खाेज्नुहाेस

अत्तरियामा अवैध बेर्ना बिक्री गरिदैं

Image

अत्तरिया – भारतबाट अवैध रुपमा तरकारीका बेर्ना ल्याएर कैलालीको अत्तरिया बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतीय व्यवसायीहरुले नै भारतका विभिन्न ठाउँबाट अवैध रुपमा बेर्ना नेपाल भित्र्याएर खुलेआम बिक्री गरिरहेका हुन् । उनीहरुले हिउँदे सिजनमा हुने प्याज, बन्दा, काउली, बैगन, टमाटर लगायतका बेर्ना भारतबाट ल्याएर नेपालमा बिक्री गरिरहेको बताएका छन ।

सफिक नाम बताउने बेर्ना व्यापारीले आफूले भारतको नोरियाबाट मोटरसाइकलमा बिरुवा ल्याएको बताए । उनले गड्डाचौकी सीमा नाका भएर आफूले मोटरसाइकलमा बेर्ना नेपाल ल्याएर आएको बताए । ‘मोटरसाइकलमा ल्याएर आएको थिए । भन्सारमा कसैले रोकेनन्’ उनले भने ‘सीमामा थोरै बिरुवा भएकाले कसैले नरोकेको होला । बिरुवा ल्याउन पाइदैन् भन्ने बारेमा मलाई थाहा छैन ।’ उनले आफूले बिक्री गरिरहेका बिरुवा राम्रो भएको दावी गरे पनि कुन जातका हुन भन्ने खुल्ने कुनै प्रमाण भने नभएको बताए ।

attariya hospital

बिरुवा संरक्षण नियमावली २०६६ को नियम ५ उपनियम ३ बमोजिम भारतबाट विरुवा ल्याउदाँ प्रवेश अनुमतिपत्र लिएको हुनुपर्ने व्यवस्था छ । बिरुवा संरक्षण ऐन २०६४ को दफा ३२ मा उल्लेख गरिए बमोजिम नेपाल भित्र प्रवेश गर्ने बिरुवा वा बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक कीरा, अन्य वस्तु, बिरुवा हुर्कने माध्यमहरू क्वारेनटाइन कार्यालयबाट अनुमति पत्र प्राप्त भएपछि मात्र आयात गर्न सकिने व्यवस्था छ ।

बिरुवा संरक्षण ऐन, २०६४ को दफा ७ का उपदफा १ वा ३ तथा बिरुवा संरक्षण नियमावली २०६६ को नियम ५ उपनियम ३ वा नियम ७ उपनियम १ बमोजिम प्रवेश अनुमति पत्र नलिएको, बिरुवा संरक्षण ऐनको दफा ११ तथा बिरुवा संरक्षण नियमावली २०६६ को नियम ७ उपनियम १ बमोजिम सम्बन्धित नाकामा रहेको क्वारेनटाइन कार्यालयमा आवेदनको साथमा नियम ७ उपनियम २ बमोजिमको कागजातहरू संलग्न गरी आवेदन नभएको, प्रवेश नाकामा रहेको क्वारेनटाइन कार्यालयबाट बिरुवा संरक्षण नियमावली २०४ बमोजिमको छोडपूर्जी नलिएको भएमा जरिवाना गर्ने व्यवस्था छन ।

तर, ति व्यवसायीहरुले भने सीमानाकामा कुनै झन्झट विनै सजिलै नेपालमा विरुवा ल्याएर विक्री गरिरहेको बताएका छन । गोदावरी नगरपालिका – ३ मालाखेती शिविरमा बस्ने बताउने जगदीस ठाकुरले आफूले पनि भारतबाट आएको विरुवा बिक्री गरिरहेको बताए ।

navjiwan hospital

‘गुलरियाका पुनिराम, गोपालले भारतबाट विरुवा ल्याउने गर्छन । उनीहरुबाट मैले विरुवा किनेर ल्याएको हुँ’ उनले भने ‘यहाँ वेर्ना उत्पादन हुँदैन । त्यसैले हामीले भारतबाट ल्याउँछौ ।’

किन्नेले जातै सोध्दैनन्

यसरी भारतबाट ल्याएर बिक्रि गरिरहेका बेर्ना नेपालीहरुले भने कुन जातको हो भनेर पनि नसोधि किन्ने गरेका छन । बिरुवा किन्न आएकी लालपुरकी तुलसी विकले राम्रो नराम्रो भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताईन् ।

‘प्याजको बेर्ना त घरमा राखेकी थिए । बन्दा काउलीको बेर्ना छैन’ उनले भनीन् ‘लोकल हो की कस्तो हो २ रुपैयाँ बोट भन्दैछन । थोरै किन्ने भन्ने सोच बनाएकी छु ।’ उनले बजारमा दाना बीउ किन्दा भने जात हेरेर मात्रै किन्ने गरेको बताईन् । बिक्रेताहरुले भने लक्ष्मी जातको काउली, नासिक जातको प्याज भनेर प्रति प्याजको मुठा ५० र काउली, वन्दा, बैगन प्रति बोटा २ रुपैयाँका दरले बिक्रि गरिरहेका छन ।

ओलानीका राम बहादुर विकले घरमा थोरै बारी भएकाले २/४ बोट लग्न लागेको बताए । उनले जात के हो भनेर आफूलाई जानकारी नभएको बताए ।