देशभर भरखरै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । केही ठाउँ बाहेक धेरै ठाउँमा मतपरिणाम पनि सार्वजनिक भैसके । सुदूरपश्चिमको बाजुरा बाहेक अन्य सबै ठाउँको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ । निर्वाचनको मतपरिणाम हेर्दा हालसम्म सुदूरपश्चिमबाट १६ प्रतिनिधि सभा सिटमध्ये ७ स्थानमा जित निकाल्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । नागरिक उन्मुक्ति पार्टी र नेकपा एकिकृत समाजवादीले ३/३ स्थानमा जित निकालेको छ भने २ स्थानमा नेकपा एमालले विजयी बनेको छ । बाजुराको भने नजिता आउन बाँकी छ ।
सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी चासोका रुपमा हेरिएको कैलाली क्षेत्र नं. ४ मा लोकतान्त्रीक बामगठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभापति विर बहादुर बलायरले जित हात पारे उनले नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गरेका थिए । भट्ट र बलायर दुवै पुर्वमन्त्री समेत हुने भने आ–आफ्नो पार्टीको प्रदेश नेतृत्व सम्हालिरहेका लिडर पनि हुन ।


त्यतिमात्रै नभई डोटीबाट कैलाली झरेका बलायरलाई र डा. भीम रावललाई पाखा लगाएर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले भट्टलाई जिम्मेवारी दिएको भएर पनि दुवैका लागी निर्वाचन जित्नु बढी महत्वपुर्ण थियो । चुनावी प्रचार प्रसारका समयमा कहिल्यै पनि अत्तरियाको आमभेलालाई सम्बोधन नगरेका ओलीले भट्टको माहोल बनाउनकै लागि यसपटक अत्तरियाको आमभेलालाई सम्बोधन गरेका थिए । तर उनको त्यो सम्बोधनले भट्टलाई जिताउन भने सकेन ।
कुल १ लाख १० हजार ४५३ मतदाता रहेको यस क्षेत्रमा जम्मा ६४ हजार १५८ मत मात्रै खसेको थियो । त्यसमा २६ हजार २२० मत बलायरले पाएका थिए भने २२ हजार ६१३ मत भट्टले पाएका थिए । निर्वाचनमा करिब ७ प्रतिशत मत बदर भए । गणना भएका कुल ६३ हजार ३८६ मतमध्ये ६.५५ प्रतिशत अर्थात ४ हजार १५३ मत बदर भए । निर्वाचन आयोगले बदर मतको संख्या १ प्रतिशतमा झार्ने भनेपनि कैलाली क्षेत्र नं. ४ मा मात्रै करिब ७ प्रतिशतको हाराहारीमा मत बदर भएको देखियो । निर्वाचन आयोगले हरेक निर्वाचनका बेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्छ । यसकै लागि करोडौं रकम यसमा खर्च गर्छ । तर, बदर मतको रेसियोले आयोगको मतदाता शिक्षा कार्यक्रम कर्मकाण्डी मात्रै भएको देखाएको छ ।
लाखौंको संख्यामा मत बदर हुँदै आए पनि न आयोग गम्भीर देखिन्छन् न त सरकार नै । बरु निर्वाचनमा सरकारले गर्दै आएको लगानी बालुवामा पानी खन्याए जस्तै भइरहेको छ । आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम नाम मात्रैको भएको भन्दै आलोचना हुँदै आएको छ । आयोग निर्वाचन सामग्री व्यवस्थानमा जति ध्यान दिन्छ मतदाता शिक्षा चुक्दै आएको बदर मतको प्रतिशत बढ्दै गएकाले देखिन्छ । निर्वाचन आयोग, उम्मेदवार, राजनीतिक दल मतदाता शिक्षामा उदासीन छन् ।
जसका कारण बदर मतको ग्राफ उकालो चढेको हो । प्रत्यक्ष निर्वाचनतर्फ एक भोटले जित हार हुन्छ । तर, करिब ७ प्रतिशत मत बदर चुनावले राम्रालाई हराउने र खराबलाई जिताउने सम्भावना हुन जान्छ । निर्वाचन आयोगले मतदाता शिक्षामा गरिरहेको लापरबाहीले बदर मतको संख्या बढीरहेको छ । त्यसैले आगामी दिनहरुमा निर्वाचन आयोगले मतदाता शिक्षालाई विशेष महत्वका साथ हेर्नुपर्दछ ।

















