आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब ५ दिन मात्रै बाँकी छ । निर्वाचनको परिणामले देशमा नयाँ सरकार गठन हुनेछ । नयाँ गठन भएको सरकारले नागरिकका अपेक्षा अनुसार काम गर्न सक्छ वा सक्दैनन्, नयाँ सरकारले कस्ता कस्ता योजनाहरुलाई अगाडी सार्छ, कस्ता विकासका खाकाहरु तयार गर्छ त्यो भविष्यको कुरा हो ।
विकासका खाका तयार गर्ने, नागरिकका अपेक्षा अनुसारका काम गर्ने वा देशलाई समृद्धिको मार्गमा अगाडी बढाउने खालका योजनाहरु तयार गर्ने सरकार गठन प्रकृयाको सुरुवाती चरण अर्थात निर्वाचनको समयमा अहिले हामी छौ । हामीले सोचेको सरकार बनाउने जिम्मेवारी अहिले हाम्रै काँधमा छ ।

देशको आर्थिक समृछि गरी देशलाई विकासको बाटोमा लैजाने व्यक्ति निर्वाचनमा विजयी भए, सायद देशले विकासका कार्यहरुमा अपेक्षा गरेअनुसारको फड्को मार्न सक्छ होला । तर त्यस्तो योजना र भिजन भएको मानिस निर्वाचनमै पराजित भयो भने के त्यो सम्भव छ ? अवश्य पनि सम्भव हुन गाह्रो छ ।

निर्वाचन नजिकीदै गर्दा अहिले उम्मेदवारहरुले साम, दाम, दण्ड, भेद लगायर मतदाताहरुलाई रिझाईरहेका छन । पछिल्लो समय नेपालमा अन्य प्रयोजन भन्दा पनि दामका कारण नजित्नुपर्ने उम्मेदवारहरुले पनि चुनाव जितिरहेको अवस्था छ । निर्वाचनको मुखैमा मतदाताहरुलाई आर्थिक लोभमा पारी, उनीहरुलाई पैसा वितरण गर्दै आफ्नो पक्षमा भोट हाल्न कसम खुवाउने, ल्याप्चे हान्न लगाउने लगायतका परिपाटीहरु मौलाउदै गएका छन ।
विगत केही वर्षदेखि समाजले त्यस्तै उम्मेदवारहरुलाई विजयी गराउदै पनि गएको छ । त्यसको परिणाम सायद सबै नेपाली नागरिकहरुले अहिले भोगीरहेका छन । देशमा आर्थिक संकट चरम सिमामा छ । देशको अर्थव्यवस्था एकदमै कमजोर बनेको अवस्था छ । यस्ता हरेक समस्याहरुको कारक मतदाता नै हो ।
निर्वाचनमा होमिएका उम्मेदवारलाई नचिनि उसको पैसाको प्रलोभनमा परेर गलत मानिसलाई देशको संसदमा पु-याउँदा अवश्य पनि सजायको भागेदार बन्नु नै पर्छ । विगतको जस्तै अहिले पनि अबको केही दिनसम्म मतदाताहरुलाई आर्थिक प्रलोभन देखाउने या भनौ पैसा बाड्ने समय आएको छ । यो समयमा पैसाको लोभ गरेर गलत उम्मेदवारलाई संसदमा पठायौ भने फेरी पनि पुरानै समस्याहरु बल्झनेछन ।
केही रुपैयाको लोभमा दक्ष र सक्षम उम्मेदवारलाई भोट नदिँदा त्यसको भविष्यमा आफैलाई हानि पु-याउने कुरा अब विर्सन हुदैन । चुनावको समयमा पैसाको प्रलोभन देखाउने उम्मेदवार पक्कै पनि सक्षम उम्मेदवार हैन भन्ने बुझ्न जरुरी छ ।
पैसाको प्रलोभन देखाई मतदाताहरुलाई पैसा बाड्ने उम्मेदवारले भविष्यमा नेतृत्व तहमा पुगे गुमेको पैसा फिर्ता ल्याउन अवश्य पनि भ्रष्ट्राचारलाई प्रसय दिन्छ, जसको भुक्तभोगी हामी सबै नेपाली हुन्छौ । त्यसैले उम्मेदवारको दक्षता र सक्षमताको आधारमा भोट दिऔ । पैसामा विकेर आफ्नो र देशको भविष्यमा माथी खेलवाड नगरौ । देशलाई समृद्ध बनाउने अभियान आजैबाट सुरु गरौ ।
















