अत्तरिया – नेकपा एमालेका सचिव लेखराज भट्ट सुदूरपश्चिममा माओवादीको जग बसाउने नेता हुन । २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका भट्टले आफ्नो जीवनको उर्जावान समय माओवादीमा बिताए । जनयुद्ध देखि यस क्षेत्रको कमाण्ड समाल्दै आएका भट्ट शान्ति प्रक्रियामा आएपछि पनि १२ बर्ष माओवादीमै रहेर सुदूरपश्चिमको कमाण्ड समाले । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकिकरण भएर नेकपा बनेपछि भने २०७५ सालमा भट्टले पाएको प्रदेश कमाण्डरको जिम्मेवारी खोसियो र, भीम रावल प्रदेश इन्चार्ज बने ।
तर, यो परिस्थिति धेर दिन टिकेन । ३ बर्ष नपुग्दै नेकपा विभाजन भयो । पुनः एमाले, माओवादी फरक–फरक पार्टी बने । यो विभाजन पछि भट्टलाई पुनः प्रदेशको कमाण्ड गर्ने जिम्मेवारी मिले पनि पार्टी परिवेश भने बदलिन पुग्यो । राजनीतिक उतार चढावका बिच उनी एमालेको सुदूरपश्चिम इन्जार्च बन्न पुगे ।
कठिन परिस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा सेफ ल्याण्डिङ गरेका भट्टमाथि अब एमालेबाट सेफ टेकअफ गर्ने चुनौती छ । यसअघि ३ पटक चुनाव लडिसकेका भट्ट मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन ।
पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा निर्वाचित भट्ट २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएपनि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । यद्दपी ०७४ को निर्वाचनमा भट्ट वाम गठबन्धनका साझा उम्मेदवार थिए ।
पार्टी मिल्दा धेरै हद सम्म भोटको संख्या पनि मिल्ने कुरा यसअघिको ०७४ को आम निर्वाचन र ०७९ सालको स्थानीय निर्वाचनले पनि पुष्टि गरिसकेको छ । पार्टी भित्र कुनै आन्तरिक खटपट नभए अहिले नेपालको राजनीतिमा यो सुत्रले राम्रोसंग काम गरिरहेको छ । अघिल्लो चुनावमा यही सुत्रको फाईदा लिएर संसद भवन छिरेका भट्टका लागि अहिले यही सुत्र चुनौती दिइरहेको छ ।
हुनत भट्टले एमालेलाई नेकपाकै निरन्तरता रुपमा ब्याख्या गरेर आफ्नो क्षेत्र (कैलाली – ४) मा माओवादी पुरै एमालेमा आइसकेको दावी गर्दै आएका छन । तर, स्थानीय निर्वाचनको परिणामले पर्ने त्यो दावीलाई पुष्टि गर्दैन ।
स्थानीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनका बिच मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष पदमा चुनाबी तालमेल भएपनि क्षेत्र नम्बर ४ का सबै ३० वडामा यी पार्टी एक्लाएक्लै चुनाव लडेका थिए । जुन भोटलाई अहिले पार्टीको शक्तिका रुपमा लिने गरिएको छ ।
यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको एक वडा रहेका छन । जसमध्ये स्थानीय तहको चुनावमा कांग्रेसले १५ वडा, एमालेले ९ वडा, माओवादी ४, एकीकृत समाजवादी १ वडा र स्वतन्त्रले १ वडा जितेका छन । जसमा सत्तारुढ गठबन्धनले कूल जितेको वडा संख्या २० हुन आउन्छ, जुन एमालेले जितेको भन्दा दोब्बर हो ।
यस्तै कुल मत हेर्दा कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादीको १० हजार १२३, एकीकृत समाजवादीको ४ हजार २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ हजार २३४ रहेको छ । मत परिणाम हेर्दा पनि गठबन्धनको मत एमालेको भन्दा झण्डै दोब्बर छ ।
यस क्षेत्रमा एमाले एक्लै चुनाव लडिरहेको छ भने गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा वीर बहादुर बलायर चुनावी मैदानमा छन ।
कांगेसमा प्रतिनिधि सभाका लागि धेरै आंकाक्षी भएपनि अन्तिममा बलायरले टिकट पाएका थिए । जसले गर्दा कांग्रेस भित्र यस पटक पनि केही किचलो बाँकी नै छ । यसै किचलोका कारण बलायरले कांग्रेसबाट पाउने मत घटेमा त्यसको पुर्ती गठबन्धनको भोटले गर्नेमा बलायर ढुक्क छन् । त्यसैले डोटीमा हुँदा गठबन्धन आवश्यक छैन भन्ने बलायर अहिले गठबन्धनको मत तान्न निकै जोडबल गरिरहेका छन ।
उनले आफ्नो चुनावी परिचालन समितिमै गठबन्धनका दललाई समेटेका छन । कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति बसन्त रोकायाको संयोजकत्वमा बनाइएको ४ सदस्यीय मुल चुनाव परिचालन समितिमा नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नम्बर ४ का संयोजक बल बहादुर महत, नेकपा एकिकृत समाजवादीका तर्फबाट क्षेत्रिय संयोजक रत्ना कडायत र राष्ट्रिय जनमोर्र्चाका तर्फबाट राष्ट्रिय परिषद् सदस्य हरिकृष्ण पाण्डेय रहेका छन ।
०७४ को निर्वाचनमा पहिलो पार्टी बनेको एमाललेलाई देशभर गठबन्धनले चुनौती दिइरहेको भएपनि पुर्व माओवादी पृष्ठभूमिका भट्टका लागि भने माओवादीले नै चुनौती दिने अवस्था आएको छ । स्थानीय चुनावकै हाराहारीमा पार्टीगत भोट दोहरीएमा भट्टलाई माओवादीको भोट भारी पर्नसक्छ । यस क्षेत्रमा माओवादीले प्रदेशमा पनि टिकट नपाएको भएपनि माओवादी गठबन्धनका पक्षमा खुलेरै लागेको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नम्बर ४ का संयोजक महतले पार्टीको केन्द्रिय सर्कुलर अनुसार माओवादी गठबन्धनलाई चुनाव जिताउन लागेको बताए । उनले भने ‘ठूलो पार्टीमा एकआद समस्या होलान । तर, सिगौ पार्टी गठबन्धनको पक्षमा छ ।’
क्षेत्र नम्बर ४ मा स्थानीय तहमा वडाको नजिताले पनि कांग्रेस र एमालेको मत करिब समान भएकाले यस क्षेत्रमा माओवादी निर्णायक हुने देखिएको छ । यसरी हेर्दा एमालेका सचिव भट्टका लागि उनले नै यस क्षेत्रमा संगठन बिस्तार गरेको उनको पुरानो पार्टी भारी पर्न सक्ने आकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ ।
यद्दपी अहिलेको चुनावमा नयाँ मतदाता थपिनु, भट्टका प्रतिस्पर्धी फेरिनु, राजनीतिक दलको समिकरण बदलिनुले पनि चुनावको नतिजा पुरानो अंकगणित संग मिल्नेमा ढुक्क हुने अवस्था छैन ।