अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरबहादुर बलायर लड्ने करिब–करिब टुङ्गो लागेको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व गरिरहेका दुई नेता चुनावमा आमने–सामने हुने देखिएको छ । कांग्रेसले प्रदेश सभापति बलायरलाई यस क्षेत्रमा चुनाव लड्न पठाएको छ भने एमालेले यसअघि नै पार्टीका सचिव एवम् प्रदेश इन्चार्ज लेखराज भट्टलाई टिकट दिइसकेको छ । यसरी पार्टीको प्रदेश कमाण्ड समालिरहेका दुई नेता एकै ठाउँबाट चुनाव लड्ने करिब निश्चित भएपछि यस क्षेत्रले सबैको ध्यान तानेको छ ।

एमालेका भट्ट यसै क्षेत्रबाट चौथो पटक चुनाव लड्ने तयारीमा छन भने बलायर पनि डोटीबाट ३ पटक चुनावमा लडिसकेका छन । जसमा भट्ट २ पटक विजयी भएका थिए भने बलायर १ पटक मात्रै विजयी भएका छन । २०७९ मंसिर ४ मा हुने निर्वाचनमा भने दुवै नेता चौथो पटक एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न लागेका हुन ।

पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा भट्ट १७ हजार ९७९ भोट सहित तत्कालिन कैलाली क्षेत्रनम्बर ५ बाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिर्घराज भाटले १३ हजार ६३८ मत प्राप्त गरेका थिए । त्यसपछि उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा श्रम मन्त्री नियुक्त भएका थिए । त्यसपछि भट्ट बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

कैलालीबाटै २०७० सालको चुनावमा भने भट्ट नेपाली कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । तेस्रो पटक भट्ट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट काग्रेंस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै कैलाली – ४ बाट निर्वाचित भएका थिए । भट्टले ३१ हजार ३५९ मत पाए भने प्रतिद्वन्द्वी सुनिल भण्डारीले २० हजार ९६० मत पाएका थिए । त्यसपछि उनी २०७६ सालमा केपी शर्मा ओली सरकारमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए ।
बलायर पनि पहिलो पटक डोटीबाट २०६४ सालमा संबिधान सभाको उम्मेदवार बनेका भएपनि सो चुनावमा उनी पराजित भएका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा डोटी–१ बाट निर्वाचित बलायर २०७४ सालमा सेर बहादुर देउवा नेतृत्वको संघिय सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बलायर प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिन्छन ।
डोटीबाटै चुनाव लडेका बलायर २०७४ सालको निर्वाचनमा भने एमाले नेता प्रेमबहादुर आलेमगर संग प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । आले ३२ हजार ५ सय १० मतसहित बिजयी हुँदा बलायरले ३० हजार ८ सय ७८ मत प्राप्त गरेको थिए । बलायर हाल आफूलाई पराजित गरेका आलेलाई डोटी निर्वाचन क्षेत्र छोड्दै कैलालीबाट उम्मेदवार बन्न तयार भएका छन ।
बलायरको जन्म विस २०२२ साल भदौ ४ गते डोटी जिल्लाको लाटामाण्डौं–६ मा भएको थियो । ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए । २०३३ सालदेखि राजनीतिमा प्रवेश गरेका बलायर २०३६ सालदेखि राजनीतिमा सक्रिय छन ।
नेपाली कांग्रेसको डोटी जिल्ला सभापति रहिसकेका बलायर २०७८ मा भएको महाधिवेशनबाट प्रदेश सभामा निर्वाचित भएका थिए । ६ सय ८८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिद्धद्धि नारायणदत्त मिश्रले २ सय ८० मत मात्रै ल्याएका थिए ।
नेकपा माओवादी, नेकपा हुँदै एमाले बनेका भट्टलाई पनि एमालले २०७८ सालमा सुदूरपश्चिम इन्चार्ज तोकेको थियो । २०१६ साल चैत्र ११ मा डोटीको सविक गडसेरा गाविस–९ मा जन्मेका भट्ट २०२९ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।
उनले २०३२ सालमा मोहन बिक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिए । उनी पछि नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) मा सामेल भइ अन्ततः २०५१ सालमा नेकपा– माओवादीको एक पूर्ण–समय सदस्य बनेका थिए । उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल परेका थिए ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी र गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ लाई समेटिएको छ ।