अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । पर्सी शनिवारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ ।
