वीरेन्द्रनगर – कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी चलिरहेको बेला सोमबार बिहान दुई शव फेला परेका छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका–६, सुँगुरखाल र सुर्खेतको पश्चिम बाबियाचौर क्षेत्रमा अन्दाजी ३५ वर्षीय एक पुरुषको शव उत्तानो परेको अवस्थामा फेला परेको हो । प्रहरीले उक्त शव दुर्घटनामा हराएका चालक वा सहचालकमध्ये एक हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।


यस्तै, लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित बुरिङ्गे क्षेत्रमा थप एक जनाको शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) जय राज सापकोटाले जानकारी दिए । उनका अनुसार दुई शवको सनाखत हुन बाँकी छ ।
प्रहरीका अनुसार यी शव गत बिहीबार कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुमध्येका हुन सक्ने आशंका गरिएको छ ।
शवको पहिचानका लागि हराइरहेका व्यक्तिका आफन्तलाई बोलाइएको छ भने सनाखत र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



















