अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले सदस्यहरूको अन्तिम नामावली टुंगो लगाएर निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । सोमबार व्यवसायीहरूको उपस्थितिमा संघका अध्यक्ष कल्याण सिंह बोहराले निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टलाई रुजु गरिएको १ हजार २४ जना सदस्यको नामावली हस्तान्तरण गरेका हुन् ।

संघको असार २७ र २८ गते हुने साधारणसभा तथा निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा तोकिएको थियो । सोही प्रक्रियापछि अन्तिम मतदाता नामावली तयार पारिएको हो ।

नामावली हस्तान्तरणसँगै अत्तरिया उद्योग वाणिज्य संघ औपचारिक रूपमा नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको छ ।
निर्वाचन समितिका संयोजक अधिवक्ता देवराज भट्टले अधिवेशनअन्तर्गत हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र मर्यादित ढंगले सम्पन्न गराउन सबै व्यवसायी तथा सरोकारवालासँग सहयोगको अपिल गरेका छन् ।



















