खाेज्नुहाेस

बर्सातको भेलले बेलपानी–फुलबस्ती सडकको बेहाल, यातायात बन्द

Image

अत्तरिया – बर्सातले सडक बिग्रिएपछि यस वर्ष पनि कैलालीको फुलबस्ती सम्मको यातायात सेवा बन्द भएको छ । जिल्लाको गोदावरी नगरपालिका – ४ मा चुरे क्षेत्रमा पर्ने बेलपानी–फुलबस्ती सडक बर्सातको भेल सँगै गाडी चलाउनै नमिल्ने गरी बिग्रिएपछि सार्वजनिक यातायात सेवा बन्द भएको हो । जहाँ अत्तरियाबाट दैनिक जिपहरूले यात्रुलाई सेवा दिने गरेका थिए ।

बेलपानी देखि फुलबस्ती सम्मको करिब ११ किलोमिटर सडक ६ वर्ष अघि निर्माण गरिएको भए पनि हरेक वर्ष बर्सातको समयमा बन्द हुने गरेको छ । यस वर्ष असार दोस्रो साता देखि सार्वजनिक यातायातका रूपमा सञ्चालन हुने जिपहरू बन्द भएको फुलबस्तीका स्थानीय कृष्ण धामीले बताए । उनले सडक पुरै बिग्रिएपछि हाल मोटरसाइकल समेत चलाउन सक्ने अवस्था नभएको बताए ।

attariya hospital

उक्त सडक विगतमा पनि बर्सात सुरु भएसँगै बन्द भएर असोज कार्तिकपछि मर्मत गरेर मात्रै सञ्चालनमा आउने गरेको थियो । स्थानीयले पटक पटक सडकमा ग्राभेल सम्म गरेर वर्ष भरी गाडी चलाउन मिल्ने बनाइदिन आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय कृष्ण धामीको भनाइ छ ।

स्थानीय प्रदेश देखि संघ सरकारका प्रतिनिधि सँग पनि सडकका बारेमा कुरा राख्दा कतैबाट सुनुवाइ नभएको उनको भनाइ छ । सडक बर्सातमा बन्द हुँदा स्थानीयले अत्तरिया बजार सँगको सम्पर्क टुट्दा निकै सास्ती खेप्नु परेको उनले बताए । ‘यहाँ कक्षा ८ सम्मको मात्रै विद्यालय छ । स्वास्थ्यका लागि पनि आधारभूत सेवा मात्रै उपलब्ध छ’ उनले भने ‘हरेक कुराका लागि अत्तरिया बजारमा निर्भर रहनुपर्ने बाध्यता भए पनि बर्सातका ४/५ महिना सडक सञ्जाल विच्छेद हुँदा निकै कठिनाइ भोग्नुपर्ने बाध्यता रहेको छ ।’

navjiwan hospital

स्थानीय रमेश रोका मगरले बर्सातको भेलले सडकको अवस्था जीर्ण बनेको बताए । उनले सडक सञ्चालनका लागि नाला, होम पाइप, जाली प्रयोग गरेर स्तरोन्नति गर्न आवश्यक रहेको बताए ।

अत्तरिया बजार देखि बेलपानी सम्म कालोपत्रे र ग्राभेल सडक भए पनि बेलपानी देखि फुलबस्ती सम्मको सडक स्तरोन्नति नहुँदा बर्सेनि बर्सातपछि मर्मत गरेर मात्रै सञ्चालन गर्ने गरिएको छ । उक्त सडक क्षेत्रमा गोदावरी नगरपालिका ४ का ७ वटा बस्ती रहेका छन् । जसमा बेलपानी, घुम्तीगडा, गैरीगडा, पट्रेनी, एकान्तटोल, काफलपानी र फुलबस्ती रहेका छन् । जहाँका करिब २ सय बढी घरधुरीले सो सडक प्रयोग गर्दै आएका भए पनि सडक बन्द हुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।

उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेको भए पनि आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा ल्याएको छैन । प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा बेलपानी फुलबस्ती सडक सहित ४ वटा योजनाका लागि १ करोड विनियोजन गरेको थियो । जसमध्ये बेलपानी फुलबस्ती सडकका लागि छुट्याएको २५ लाख कार्यान्वयनका लागि पटक पटक प्रदेशमा धाउँदा पनि काम नभएको वडाध्यक्ष हेम प्रकाश मल्लले बताए ।

उनले प्रदेशको बजेटबाट मोड सुधार गर्ने योजना भए पनि सफल नभएको बताए । ‘उक्त सडकका मोडहरू एकदमै ठाडो छन् । जसले गर्दा बर्सातको समयमा आएको भेलले पुरै सडक नै बगाउने समस्या छ’ उनले भने ‘मोड अलि ठुलो बनाएर सडक समतल बनाउन सके त्यति समस्या आउने थिएन ।’

उनले बर्सातमा प्रत्येक वर्ष आउने बाढी, पहिरो र भेलले बिगारेको सडक असोज कार्तिकमा नगरपालिकाबाट मर्मत गरेर सञ्चालन गर्ने गरिएको बताए । बर्सातको पानीले बिग्रिएको सडक मर्मतका लागि बर्सेनि १० लाख खर्च हुने गरेको उनले बताए ।

‘सुरुका २ वर्ष वडाबाट १० लाख विनियोजन गरेर यो सडक बर्सातपछि मर्मत गरेर सञ्चालन गरिएको थियो । पछिल्लो २ वर्ष नगरपालिका बाट १०/१० लाख मर्मत खर्च छुट्याइँदै आएको छ’ उनले भने ‘वर्षा रोकिएपछि मर्मत गरेर मात्रै यो सडक सञ्चालन हुँदै आएका छ ।’ उनले दसैँ अघि मर्मत गरे पनि कुनै वर्ष दसैँ पछि आउने पानीले बिग्रने गरेकाले समस्या हुने गरेको बताए । सडकको दिगो समाधानका लागि आफूले पनि पहल गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । सुगम जिल्ला र पालिकामै भएर पनि दुर्गम क्षेत्रको जस्तै वर्षमा आधा समय मात्रै सडक सञ्चालन हुँदा स्थानीयले भने निकै सास्ती खेप्न बाध्य रहेका छन् ।