सोमबार देखि वडादशैँ सुरु भैसकेको छ । घटस्थापनाको दिन जमरा राखेर सुरु गरिने दशै नेपालीहरुको ठुलो पर्व हो । असत्य माथी सत्यको विजय भएको भन्दै पराम्परादेखि नै दशैँलाई धुमधामका साथ मनाईदै आएको छ । दशैँमा खसीबोका, बाख्रा, राँगा, बंगुर, कुखुरा लगायतका जनावरहरुको बली दिने गरीन्छ । विभिन्न स्थानमा विभिन्न जनावरहरु दशैंमा बलीका रुपमा देवीलाई चढाउने परम्परा नेपाली समाजमा छ ।
असत्य माथी विजयी भएको अवसरमा मनाईने पर्वमा निर्दाेष जनावरको बली चढाईनु न्याय हैन । पर्वलाई हर्षाेल्लासका साथ मनाउन देवतालाई खुसी बनाउनु पर्छ र देवतालाई खुसि बनाउन जनावरको बली दिनुपर्दछ भन्ने हाम्रो मानसिक भ्रमका कारण समाजमा हत्या हिंसाका घटनाहरु बढीरहेका छन । हामीले सिकाएको पाठ आउँदो पुस्ताले सिक्ने हुन, उनीहरुलाई हत्याहिंसा गर्न सिकाउने हामीहरुले उनीहरुबाट परम्परागत संस्कृतिको आशा गर्नु व्यर्थ हुन जान्छ ।


दशैतिहारमा जनावरको बलि दिने मात्रै हैन, मदिरा सेवन गर्ने, जुवा तास खेल्ने लगायतका सामाजिक संस्कार विथोल्ने खालका गतिविधिहरु पनि हुने गर्दछन । त्यस्ता गतिविधिहरुले समाजमा नकारात्मक संस्कारको सृजना गर्ने गर्दछ । हर्षाेल्लासका साथ समाजका सबै मानिसहरुसँग एकआपसमा मित्रभाव राखी मनाईनुपर्ने पर्वले समाजमै मदिरा र जुवातासका कारण द्धन्द र झगडाको वातावरण सिर्जना गर्न सक्छ । जुवातास खेलेर सर्वस्व गुमाएका र मदिराका कारण भएको झगडमा ज्यान गुमाएका उदाहरणहरु लाखौ छन ।
दशैँ शक्तिको आराधना गरी आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर मनाईने पर्व हो । यसमा आफ्ना नाता कुटुम्ब, ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम गर्नुपर्दछ ।
तर हाम्रो समाजमा दशैतिहारलाई जनावरको बली चढाएर मासु खाने, जुवातास खेल्ने र मदिरा सेवन गर्ने लगायतका रुपमा मात्रै हेरिने गर्दछ । तर त्यो संस्कार समाजको एकरुपता र आपसी मेलमिलापलाई ध्वस्त गर्ने संस्कार मात्रै हो । त्यसैले चाडपर्वहरुमा नकारात्मक काम गर्ने, कुसंस्कार र कुसंस्कृतिहरु पालना गर्ने काम नगरौ । समाज र देशको लागी चाडपर्वहरुमा हुने यस्ता खालका विकृतिहरुको अन्त्य गरौ ।
















