अहिले देशभर जताततै डेंगु रोगको आतंक छ । गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल देशभर फैलिसकेको छ । केही वर्ष कोरोना भाईरसका कारण समस्या झेलेको नेपालले यसपटक फेरी डेंगुको समस्या झेल्नुपर्ने अवस्था आउँदैछ ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्येको एक डेंगु हो । डेंगु हुँदा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता सुरुवाती लक्षणहरु देखिन्छन । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।


मुख्यगरी जलवायु परिवर्तनका कारण डेंगुको संक्रमण बढीरहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।
अहिले बढी जसो डेंगुका विरामीहरु देखा पर्न थालेका छन । मौषममा परिवर्तनका कारण फैलिरहेको डेंगु अझै नियन्त्रणमा आएको छैन । हेलचेक्र्याई नगरी डेंगुको उपचारका लागी सरकारी अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुले सो अनुसारको पुर्वतयारी गरिराख्न आवश्यक छ । कोरोना महामारी पछि डेंगुरोग महामारीकै रुपमा फैलिदैछ । यसको नियन्त्रणका लागी पुर्वतयारी नगरे सम्भवत पछि गाह्रो अवस्था छ । एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलने भएकाले पनि यो रोग छिटो फैलिरहेको छ ।
त्यसैले यसबाट बच्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ । यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । डेंगु महामारीको रुपमा फैलदैछ, यसको नियन्त्रणका लागी आजैदेखी पहल थालौ ।

















