खाेज्नुहाेस

मानिस बोक्ने एम्बुलेन्स बिरामी

Image

सुदूरपश्चिम प्रदेश सरकारले करिब ४ वर्ष अघी १६ वटा एम्बुलेन्स खरिद ग-यो । प्रदेशका १६ वटा निर्वाचन क्षेत्रहरुमा वितरण गर्ने भन्दै २०७६ साल साउनको अन्तिम साता प्रदेश सरकारले उक्त एम्बुलेन्सहरु खरिद गरेको थियो । खरिद गरिएका एम्बुलेन्सहरु तिन महिनापछि प्रदेशका ९ ओटै जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा वितरण गरिएका थिए । एम्बुलेन्स अभावका कारण कुनै पनि विरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने लक्ष्यका साथ प्रदेश सरकारले ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयामा उक्त एम्वुलेन्सहरु खरिद गरेको थियो । उक्त रकममा भन्सार छुट सहित समावेश छ ।

प्रदेशको सामाजिक विकाश मन्त्रालयले धनगढीको सेती प्रादेशिक अस्पताल, अछामको कमल बजार प्राथमिक स्वास्थ्य केन्द्र, डडेल्धुराको जोगबुडा अस्पताल, दार्चुला, बैतडी र बझाङका जिल्ला अस्पतालहरु, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेल्धुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको थियो ।

attariya hospital

‘ख’ श्रेणीका अत्याधुनिक सुविधा सम्पन्न भनिएका उक्त एम्बुलेन्सहरुमा सबै आकस्मिक उपकरण सँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेटबाहेक ‘ए ग्रेड’का सबै उपकरण र सुविधा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको थियो । एम्बुलेन्स चालक पनि तालिम प्राप्त हुने, स्वास्थ्यकर्मी पनि संगै हुने र गर्भवती र ७० बर्ष भन्दा माथिका बृद्धलाई ५० प्रतिशत छुट हुनुपर्ने सम्झौता गरी एम्बुलेन्स सम्बन्धीत स्वास्थ्य संस्थाहरुलाई बुझाईएको भएपनि अहिले ति एम्बुलेन्सहरु आफै बिरामी परेका छन ।

टाटा कम्पनीका मिनीट्रक खरिद गरी एम्बुलेन्स बनाएर वितरण गरेको भन्दै चर्काे आलोचना भएका उक्त एम्बुलेन्सहरु ४ वर्षमै विग्रिएपछि प्रदेश सरकारको खरिद प्रति अझबढी शंका थपिएको छ । ‘ख’ श्रेणीको सुविधा नभएको, टेष्ट ड्राईभ र जाँच पास नै नभएको, सम्झौतामै विवाद लगाएका कयौ आलोचनाका बिच पनि प्रदेश सरकारले एम्बुलेन्सहरु वितरण गरेको थियो । तर, वितरण पछि भने उक्त एम्बुलेन्सहरु बिनाकामका भएका छन ।

करोडौ रकम खर्च गरेर खरिद गरेका अत्याधुनिक सुविधा सम्पन्न भनिएका एम्बुलेन्सहरु आफै बिरामी बनेर उपचारको पर्खाइमा बसेका छन । स्वास्थ्यसँग जोडिएको विषयमा गरिएको लगानी पनि बालुवामा पानि मिसाएसरह हुँदा आम नागरिकमा प्रदेश सरकारका हरेक क्रियाकलापहरुले आशंका उब्जाईरहेको छ ।

प्रदेश सरकारको लापरबाहीका कारण प्रदेशले करोडौ रकम को नोक्सानी बेहोर्नुपरेको बताउन थालिएको छ । करोडौ खर्च गरेर ल्याएका एम्बुलेन्सहरु राम्ररी चेक गरेर ल्याउन नसक्नु वा ल्याउन नचाहनु प्रदेश सरकार कै कमजोरी हो । यस्तै कार्यहरुले गर्दा प्रदेश सरकार र सरकारका मन्त्रीहरुप्रति नागरिकको भरोशा निराशामा बदलिदैछ । प्रदेश सरकारले जनताको हितका लागी योजना बनाउने कुरामा कन्जुस्याई नगरी निस्वार्थ रुपमा निति तथा योजनाहरुको कार्यान्वयन गर्न पछि पर्नुहुदैन ।