खाेज्नुहाेस

बयालपाटा अस्पतालको अपनत्व प्रदेश सरकारले लिनुपर्ने माग

Image

अछाम – अछाम जिल्लाको बयालपाटा अस्पतालको अपनत्व सुदुरपश्चिम प्रदेश सरकारले लिनुपर्ने माग उठेको छ । अछाम जिल्लाका सरोकारवालाको बैठकले ५० शय्याको अस्पताल प्रदेश मातहत हुने नेपाल सरकारको कार्यविधी र नीतिअनुसार बयालपाटा अस्पतालको आर्थिक दायित्व सहितको अपनत्व प्रदेश सरकारले लिुपर्ने माग उठेको हो ।

बयालापाटा अस्पतालले अछामसहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशका जनतालाई निःशुल्क गुणस्तरीय सेवा प्रदान गरिरहेकोमा यसको आर्थिक दायित्व सहितको अपनत्व प्रदेश सरकार र स्थानीय सरकारले पनि आर्थिक सहयोग गर्नुपर्ने स्थानीय राजनितिक दलका प्रतिनिधि एवं सरोकारवालाले माग गरेका छन् ।

attariya hospital

बयालपाटा अस्पतालको दीर्घकालिन व्यवस्थापन सहितको संचालनका लागि सुदूरपश्चिम सरकारले उच्च चासोका साथ पहल लिनुपर्नेमा प्रदेश सरकार पन्छिन खोजेको अछामका सरोकारवालाको आरोप छ ।

जिल्ला विकास समिति अछामका पूर्व सभापती भरत कुमार स्वाँरले प्रदेश सरकारले अछामलाई सौतेनी व्यवहारका दृष्टिकोणले हेर्ने गरेको आरोेप लगाए । स्वास्थ्यमा सुधार गर्नुपर्ने बेला प्रदेश सरकार बयालपाटा जस्तो गुणस्तरीय सेवा दिईरहेको अस्पतालका विषयमा गम्भिर नभएको आरोप लगाए ।

navjiwan hospital

बयालपाटा अस्पतालका विषयमा प्रदेश सरकार गम्भिर भएन भने आफूहरु जस्तोसुकै कदम चाल्नसमेत पछि नपर्ने उनको भनाई थियो । अस्पतालले निःशुल्क सेवा दिईरहेको भन्दै पूर्व सभापती स्वाँरले यसका लागि सबै स्थानीय पालिकाले समेत सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले आफू अस्पतालका बारेमा निकै चिन्ता र चासो लिएर प्रदेश र केन्द्रमा गएको बताए । अस्पतालको आर्थिक व्यवस्थापन गर्न आफू पछि नहट्ने र पटक–पटक यस विषयमा कुरा गरिरहेको बताए ।

साँफेबगर नगरपालिकाका पूर्व नगरप्रमुख कुलबहादुर कुवँरले बयालपाटा अस्पताल अछाम मात्र नभई सुदूर र कर्णाली प्रदेशका जनताका लागि समेत बरदान भएको बताए ।

बयलापाटा अस्पताल सरोकार समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट अपुग भएको भन्दै कम्तिमा २५ लाख माग गर्ने निर्णयसमेत गरेको सरोकार समितिका अध्यक्ष एवं नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए ।

बैठकमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिलोज कुवँर, कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य भक्त ठकुल, नेकपा एमाले अछामका संगठन बिभाग प्रमुख प्रकाश शाह, कांग्रेस अछामका नेता तथा समाजसेवी अर्जुन ताम्रकार, टक्कर ताम्राकार, समाजसेवी जयन्द्र स्वाँर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुवँर, समाजवादी प्रेस संगठन अछामका अध्यक्ष डण्डी भट्ट लगायतको सहभागीता रहेको थियो ।