खाेज्नुहाेस

नगरमा सत्ता फेरिए संगै ओलानीको सरस्वती माविको विव्यस फेर्न खोजिएपछि तनाब

Image

अत्तरिया – सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समिति (विव्यस) कानुन सम्मत नभएको गोदावरी नगरपालिकाले निर्णय गरेपछि लामो समय देखि चल्दै आएको उक्त विद्यालयको विवाद झन चर्किएको छ । कैलालीको गोदावरी नगरपालिका – ११ ओलानीमा रहेको उक्त विद्यालयको विव्यस गठन भएको करिब ४ महिना पछि नगरपालिकाले समिति कानुन सम्मत नभएको भन्दै पुनः गठन गर्न निर्देशन सहितको निर्णय गरेपछि विवाद चर्किएको हो ।

उक्त निर्णयको विरोध गर्दै विव्यसका पदाधिकारीले सोमबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले मनोमानी गर्न खोजेको जनाएका छन । पत्रकार सम्मेलनमा बोल्दै विव्यसका अध्यक्ष गणेश बहादुर साउँदले ४ महिना देखि वैध समिति अहिले कसरी अवैध भयो भनेर प्रश्न गरे ।

attariya hospital

‘यसअघिको स्थानीय सरकारले बैध भनेको समिति अहिले कसरी अबैध भयो ?’ उनले भने ‘स्वयम प्रेम सिंह बडैलाले उतीबेला म नै पदेन सदस्य रहन्छु भनेर विद्यालयमा पत्र पनि पठाएका छन । आफै पदेन सदस्य रहने भनेर विद्यालयमा पत्र पठाउने अहिले आएर आफै समिति अवैध भन्ने यो चाहीँ कुन कानुन सम्वत हो ?’

उनले नगरपालिकामा भएको सत्ता परिवर्तन संगै सत्ताको आडमा यसअघिको स्थानीय सरकारले वैध भनेको समितिलाई अवैध बनाउने खोजिएको बताए । उनले कार्यपालिकाको यस्तो कदम खारेज हुनुपर्ने बताए । ‘कार्यपालिकाको निर्णय खारेज हुनुपर्छ । पुराको सरकारको पालामा भएका सबै समिति खारेज गर्ने नीति हो भने सबै विद्यालयमा खारेज गर्नुपर्यो’ उनले भने ‘नत्र हामी कानूनी रुपमा अगाडी बढ्छौ ।’ उनले नगरपालिकाले अहिले विद्यालयका अन्य कार्यक्रम पनि रोक्का गरेको बताए ।

विद्यालयका पुर्व विव्यसका अध्यक्ष शिव विकले आफ्नो समितिले कारवाही गरेका प्रधानाध्यापक विनोद भट्टराईलाई कारवाही गरेपछि उनलाई पुनवार्हली गर्न अहिलेको समितिले पनि साथ नदिएपछि समिति नै खारेज गर्ने खेल खेलिएको बताए ।

‘१६ बर्ष देखि प्रधानाध्यापक रहेका विनोद भट्टराइले लापरवाही गर्दै आएपछि हामीले ११ बुदे आरोप लगाएर नियम संगत कारवाही गरेका हौ’ उनले भने ‘गत बर्ष पौष १८ गते कारवाहीका लागि समितिले सिफारीस गरेपनि र पौष २७ गते नगरपालिकाले नै उनलाई कारवाही गरेको थियो ।’

उनले अहिले नगरपालिकाले वडा नम्बर ११ का वडा अध्यक्षको लहलहैमा लागेर नगरपालिकाले समिति नै नियमसंगत नभएको गलत निर्णय गरेको बताए । उनले नगरपालिकाको यस्तो अराजकतालाई स्विकार गर्न नसकिने बताए ।

स्थानीय भान सिह विकले चन्दा उठाएर स्थापना गरिएको विद्यालयमा अहिले अनावश्यक राजनीति गर्न खोजिएको बताए । ‘यो ६० प्रतिशत दलित पढ्ने विद्यालय हो । यसलाई यसरी लथालिङ्ग बनाउन पाइदैन । अहिले नगरपालिकाले यी सबै कुरालाई नजरअन्दाज गरेर मनोमानी गरेको छ’ उनले भने ‘अहिले नगरपालिकाले आफूलाई मन परेको मान्छे राख्ने र मन नपरेको मान्छे हटाउने खेल खेल्दै छ ।’

यस्तो छ विवाद

पुरानो कार्यसमितिलेप्रधानाध्यापक भट्टराईलाई हटाएपछि विद्यालयमा सुरु भएको विवाद अहिले सम्म सुल्झिनुको साटो झन बढ्दै गएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तत्कालिन विव्यसका अध्यक्ष शिव विकको नेतृत्वमा पौष ५ गते देखि कारर्वाही प्रक्रिया सुरु भई पौष १८ गतेको बैठकबाट प्रधानाध्यापक भट्टराईलाई ११ बुदे आरोप लगाएर हटाईएको थियो भने सोहि दिन रामबहादुर पार्कीलाई प्रधानाध्यापक नियुक्त गर्ने सिफारिस नगरपालिकामा गरेको थियो ।

अध्यक्ष विकले आफ्नो कार्यकाल सकिन २ दिन अगाडी सो निर्णय गरेका थिए । उक्त सिफारिस अनुसार नगरपालिकाले २०७८ पौष २७ गते भट्टराईलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएर शिक्षक पार्कीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । तत्कालिन समयमा हरी सिह साउँद नेतृत्वमा बसेको नगर कार्यपालिका बैठकले सो निर्णय गरेको थियो । त्यसपछि प्रधानाध्यापक भट्टराइ ३ महिने काजमा राष्ट्रिय मावी बल्मीमा गएका थिए ।

शिव विक नेतृत्वको विव्यसको कार्यकाल सकिएको करिब ३ महिना पछि नया समिति चयन गर्न २०७८ फागुन १४ गते अभिभावक भेला बसेको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो भेलाले समितिका लागि ४ जना अभिभावक छनोट गरेको थियो । त्यसपछि चैत्र १३ गते वडा प्रतिनिधि पनि छनोट गरेर नगरपालिका प्रतिनिधिका लागि पत्राचार गरिएको थियो । विद्यालयले गरेको पत्राचार अनुसार नगरपालिकाले चैत १५ गते नगरबाट मनोनित गरी २ जनाको नाम पठाइएको थियो भने त्यसपछि चैत २७ गते गणेश बहादुर साउँदको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरिएको थियो ।

navjiwan hospital

स्थानीय चुनाव पछि झन बल्भियो विवाद

२०७९ बैसाख ३० गते स्थानीय निर्वाचन पछि नयाँ विव्यसले नयाँ वडाबाट पदेन सदस्यका लागि पत्राचार ग-यो । समितिले जेठ १७ गते वडामा पदेन सदस्यका लागि पत्राचार गरेकोमा सुरुमा नव निर्वाचित वडा अध्यक्षले सर्त राखेका थिए ।

विव्यस अध्यक्ष साउँदका अनुसार वडाअध्यक्ष बडैलाले जेठ १९ गते बसको विव्यस बैठकमा भट्टराईलाई पुनः प्रअ बनाउन दवाव दिएका थिए । उक्त प्रस्ताव विव्यस बैठकमा अस्वृकार भएपछि विवाद झन चुलिएको थियो । सो समयमा नयाँ विद्यालय व्यवस्थापन समितिले काजमा बल्मीमा गएका भट्टराइलाई पुनः विद्यालयमा बोलाउने निर्णय गरेपनि प्रधानाध्यापनकको पद भने दिन नसकिने बतायो ।

यद्दपी विव्यस अध्यक्ष साउँदले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार वडा अध्यक्ष वडेलाले वडा अध्यक्ष नै विव्यसको पदेन सदस्यका रुपमा रहने भन्दै च.न. १३९८ को पत्र पठाएका थिए ।

तर, सोही दिन वडा अध्यक्ष वडैलाले च.न १४०४ पत्र नगरपालिकामा पठाएर विद्यालयको समिति प्रक्रिया संगत नभएको भन्दै वदर गर्न सिफारिस गरेका थिए । जसमा २०७८ चैत्र १४ गते बोलाईएको अभिभावक भेलामा ५१ प्रतिशत बहुमत नभएकोले अहिलेको समिति अवैध भएको उल्लेख थियो ।

सोही सिफारिसलाई आधार मानेर २०७९ साउन ३ गते नवनिर्वाचित मेयर बिरेन्द्र भट्ट नेतृत्वको नगरपालिकाको कार्यपालिक बैठकले हालको विव्यस नियम संगत नभएको उल्लेख गर्दै पुनः समिति गठन गर्न निर्देशन सहितको निर्णय गरेको छ ।

उक्त निर्णयमा १४ गतेको भेलाले अर्को दिन अविभावक बोलाएर ४ जना छनोट गर्ने भने पनि भेला नबोलाई विव्यस गठन गरिएको उल्लेख छ ।

अदालत जाने चेतावनी

पत्रकार सम्मेलनमा नगरपालिकाले बेवास्ता गरे न्यायका लागि अदालत सम्म जाने चेतावनी दिइएको छ । यद्दयी यसअघि सो विवाद प्रहरी चौकी, जिल्ला शिक्षा समन्वय ईकाईसम्म पुगेको छ । विव्यस अध्यक्ष साउँदले नगरपालिकाले मुद्धा फिर्ता नलिए उच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सम्म जाने बताए ।

नगरपालिकाले साउन ३ गते नयाँ विव्यस गठन गर्न निर्देशन दिएको भएपनि सो प्रक्रिया भने अगाडी बढेको छैन । विद्यालयको निमित्त प्रधानाध्यापकका रुपमा पनि पुराको विव्यसले निर्णय गरे बमोजिम रामबहादुर पार्की रहेको छन ।

यसअघि कारवाहीमा परेका प्रधानाध्यापक भट्टराईले काजबाट फिर्ता आएपछि सोझै प्रधानाध्यापक आफू रहेको दावी गरेपछि विवाद चर्किएको थियो । हालका विव्यसका अध्यक्ष साउँदले भने भट्टराईलाई कुनै पनि हालतमा विद्यालयको प्रधानाध्यापकका रुपमा स्विकार गर्न नसकिने बताएका छन ।