घाटामा कुखुरा बेच्दै कैलालीका किसान, सीमामा अवैध तस्करी बढेको दावी

महेश कुमार महर/अत्तरिया – कैलालीमा जिउँदो कुखुराको मुल्य घट्दा कुखुरा पालक किसान घाटाको व्यापार गर्न बाध्य भएका छन । मुल्यमा कमी आउँदा अहिले किसान लागत मुल्य पनि नउठ्ने गरी कुखुरा बिक्री गरिरहेका हुन ।

maya metro hospital

कैलालीको गोदावरी नगरपालिका – २ का कुखुरा पालक किसान हिक्मत कडायतले बजारमा अहिले जिउँदो कुखुरा १८० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार कुखुराको प्रतिकिलो लागत मात्रै हाल २२० पर्न जान्छ । ‘चल्लाको मुल्य नै १ सय भन्दा बढी हुन्छ । दानाको मुल्य ८५ पुगेको छ’ उनले भने ‘लागत भन्दा कम मुल्यमा कुखुरा बिक्री गर्नुपर्दा किसान विस्थापित हुने अवस्था आएको छ ।’ उनले अहिले २ वटा कुखुरा फर्ममा १ हजार ६ सय कुखुरा तयारी अवस्थामा रहेको बताए । उनले अघिल्लो लटमा २७० प्रतिकिलोका दरले कुखुरा बिक्रि गरेको भएपनि ४५ दिनकै फरकमा मुल्य निकै तल झरेको बताए ।

joshi vada pasal 2

‘भारतबाट अवैध रुपमा कुखुरा आयात बढेपछि नेपाली बजारमा कुखुराको मुल्य घटेको हो’ उनले भने ‘अवैध आयात कति भइरहेको छ भनेर एसपी र डिएसपी सापलाई सबै कुरा थाहा छ । यसमा ठूला दाना व्यवसायीको पनि मिलेमतो छ ।’ उनले भारतबाट अहिले १५५ रुपैयाँका दरले कुखुरा आयात भइरहेको दावी गरे ।

‘भारत सरकारले कुखुरामा अनुदान दिएको हुन्छ, जसले गर्दा भारतमा १५५ मा बेच्दा पनि घाटा हुँदैन तर, नेपालमा लगानी बढी छ । यहाँ २२० भन्दा तल कुखुरा बेच्दा घाटा हुन्छ’ उनले भने ‘कि सरकारले कुखुरा जस्तै सीमानाकाबाट दाना पनि ल्याउन दिनुपर्छ ।’ कुखुरा व्यवसायी प्रेम राज भट्टले मुल्य घट्दा अहिले किसान मारमा परेको बताए । उनले २ सय भन्दा तल मुल्य झरेका किसानलाई सोझै घाटा हुने बताए ।

‘खुला सीमानाकाबाट धमाधम कुखुरा आयात भइरहेको छ’ उनले भने ‘जसले गर्दा कुखुराको मुल्य एकदमै कम भइरहेको छ । भारतबाट कुखुरा आउन थालेको १०/१५ बर्ष नै भयो । भारतमा कुखुरा अभाव भएमात्रै यहाँको बजारमा कुखुराको मुल्य बढ्ने हो । भारतबाट अवैध रुपमा हुने आयातले यहाँको मुल्य तलमाथि भइरहेको हुन्छ ।’ राष्ट्रिय कृषक समूह महासंघ सुदुरपश्चिम अध्यक्ष प्रकाश थापाले अवैध कुखुराको आयातले कैलाली कञ्चनपुरका १५ हजार कुखुरा पालक किसान विस्थापित हुने अवस्थामा पुगेको बताए ।

उनले प्रशासनकै मान्छे मिलेर राति भारतबाट कुखुरा ल्याएर बिहान नेपाली कुखुरा बनाउने गरिएको बताए । ‘सरकारले कुखुरा किसानले कति मुल्यमा उत्पादन गरेका छन भन्ने मुल्याङ्कन नै गरेको छैन । दानाको मुल्य लगातार बढ्दा पनि किन बढ्यो दानाको लागत कति हो भनेर सरकारले बजारको अनुगमन गर्दैन’ उनले भने ‘दाना व्यवसायीहरुले युनियन बनाएर मोनोपोली रुपमा दानाको मुल्य बढाउने गरेका छन ।’

उनले अहिले कुखुराको मुल्यमा कमि आउनुको मुख्य कारण सीमाबाट हुने अवैध आयात नै भएको बताए । उनले राज्यले मुल्य निधारण गरेर बजारको अनुगमन गर्नुपर्ने बताए । भारतबाट कुखुरा ल्याउने हो भने सीमामा भन्सार जाँच र कर तिरेर ल्याएमा आफूहरुको आपत्ती नभएको उनले बताए ।

कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने भारतबाट आयात हुने कुखुरा आफूहरुले नियन्त्रणमा लिएर खाल्डोमा हाल्ने गरेको बताए । उनले पछिल्लो समय भारतबाट अवैध कुखुरा आयातमा पनि कमि आएको दावी गरे ।

‘बर्षातको समयमा अवैध आयात कम हुन्छ । आएपनि ठूलो ट्रक मै आउने भन्दा पनि साइकल, मोटरसाईकलमा ल्याएको भेटिन्छ । त्यो हामीले सीमामा नियन्त्रण गर्ने गरेका छौ’ उनले भने ‘अवैध रुपमा कुखुरा आयात रोक्न हाम्रो एकदमै निगरानी रहेको छ । सुदूरपश्चिममा यो समस्या त्यती धेरै छैन ।’

उनले कैलालीको जुगेडा क्षेत्रमा फ्याट्टफुट्ट आयात हुने गरेको सुनिने गरेकाले त्यस क्षेत्रमा निगरानी राख्ने गरेको बताए । उनले नेपाली किसान मारमा परेको कुरालाई आफूहरुले गम्भिर रुपमा लिएर सीमानाकामा थप निगरानी बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.