४५ प्रतिशत शरिर जलेका कैलालीका अमितलाई ४३ दिन पछि पुर्याइयो अस्पताल
अत्तरिया – ४३ दिन अगाडी शरिरको ४५ प्रतिशत भाग जलेर सड्न सुरु गरिरहेको छ । शरिर सडेकाले नजिक जान नाक थुन्नुपर्ने अवस्था छ ।

न राम्ररी खान सक्छन न, बोल्न नै ।

तर, पनि जसोतजो स्वास फेरिरहेका छन, कैलालीको गौरीगंगा नगरपालिका – १ चौमालाको माघिका अमित बादी ।

१२ बर्ष पहिले बुवा र गत बर्षको माघ महिनामा आमा गुमाएका १६ बर्षिय अमित मामा घरमा बाजेको संरक्षणमा बस्दै आएका थिए ।
मृगी रोगबाट ग्रसित उनी कार्तिक ६ गते आगोमा जलेपछि भने ओछ्यानमा थला परेका थिए ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई संरक्षण गरिरहेका बाजेले अस्पताल लग्न नसकेपछि उनको अवस्था अहिले निकै नाजुक बनेको छ । अमितका बाजे खडक गाइनेले आर्थिक अभावका कारण अस्पताल सम्म ल्याउन नसकेको बताए ।
‘यसअघि पनि नातिको शरिर जलेको थियो । सेतीमा ल्याएर जसोतसो उपचार गराएको थिए’ उनले भने ‘नातीलाई मृगीको समस्या छ । आफै आगोमा गएको रहेछ ।’ उनले पछिल्लो पटक कार्तिक ६ गते आगोमा जलेको भएपनि आर्थिक अभावका कारण उपचार गर्न नसकेको बताए ।
‘मेरो पनि छोराहरु घरमा छैनन् । पुर्वतिर लेवरीको काम गर्छन । म बुढो मान्छेले ल्याउन पनि सक्दैन । त्यसैमा आर्थिक अभाव हुँदा बाध्यताले घरमै राख्नु प-यो’ उनले भने ‘अहिले मृत्यु भएकी छोरीका साथीले अस्पताल सम्म ल्याइदिएका छन । अब उपचार हुन्छ की भन्ने आशा जागेको छ ।’
उनले आफूसंग उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन आग्रह गरे ।
उपचारका लागि अस्पताल ल्याइयो
आईतबार एनएनएसडब्लुए कैलालीमा कार्यरत अनिता खड्काले पहल गरेपछि भने अमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
उनले अमितकी आमा आफ्नो साथि भएकाले घरमा भेट्न जाँदा अमितको नाजुक अवस्था देखेपछि उनलाई अस्पताल ल्याएको बताइन् । ‘आगोले जलेर सानो झूपडीमा बसेको थियो । मलाई देखेपछि सहयोग गरिदिन भनेर करायो’ उनले भनीन ‘मैले यो पीडा देख्न नसकेर उसको उद्धार गर्न पहल गरेकी हुँ ।’
उनले अमितको उद्धारका लागि थ्रिडिभिएलका अध्यक्ष दिपक ओझाले सहयोग गरेको बताइन् ।
‘आगोले जलेर पनि घरमा रेखदेख गर्ने कोही थिएनन् । बडो मुस्कीलले आज (आइतबार) अस्पताल पुगाएका छौ’ उनले भनीन् ‘अब सबैले सहयोग गरिदिए हुन्थ्यो ।’
उनले अमितको आमाले होटलमा भाडा माझेर पालनपोषण गरेको भएपनि आमाको मृत्यु भएपछि अमित टुहुरो बनेको बताइन् ।
बर्न वार्ड नहुँदा उपचारमा समस्या
खड्काको पहलपछि अमितको उपचारका लागि गौरीगंगा नगरपालिकाले सेती अस्पताललाई निःशुल्क उपचारका लागि सिफारिस पत्र पठाएको छ ।
तर, जलेका बिरामीको लागि अस्पतालमा वार्ड नभएकाले उनको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बिरामीका आफन्तले बाह्य ठाउँमा उपचारका लागि लग्न नसक्ने जनाएपछि जसोतसो अस्पतालमै राखेर उपचार सुरु गरेको बताए ।
‘अस्पतालमा बर्न वार्ड नहुँदा हामीले वहाँलाई अन्य ठाउँमा लग्न भनेका थियौ’ उनले भने ‘अन्य ठाउँ लग्न बिरामीका आफन्तको आर्थिक अवस्था कमजोर रहेछ । त्यसैले हामीले सकेजतीको उपचार गरिरहेका छौ ।’
उनले जलेको लामो समय भएकाले अमितको अवस्था निकै गम्भिर रहेको बताए । उनले भने ‘शरिरको ४५ प्रतिशत भाग जलेको छ । जलेको भागमा सड्न सुरु भएको छ । जलेका लुगा पनि शरिरमै छन । अवस्था निकै क्रिटिकल छ ।’