अपि नाम्पा संरक्षण क्षेत्रबाट यार्सागुम्बा निकासी बढ्यो
दार्चुला – अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो ।एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो ।
जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजारका दरले कुल दुई करोड १६ लाख ६० हजार राजस्व सङ्कलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६६९ किलो, २०७४/७५ मा ७६४ किलो, २०७५/७६ मा ५४५ किलो, २०७६/७७ मा ३२७ किलो र २०७७/७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो ।