गेटामा मेडिकल विश्वविद्यालय बनाउन संघिय शिक्षा तथा स्वास्थ्य समिति सकारात्मक

अत्तरिया – कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजलाई विश्वविद्यालय मोडालिटीमा संचालन गर्न संघिय संसदको शिक्षा तथा स्वास्थ्य समिति सकारात्मक देखिएको छ । आइतबार समितिले अत्तरियामा गरेको अन्तरक्रिया कार्यक्रममा समितिका ६ जना सांसदहरुले मेडिकल विश्वविद्यालय बनाउनको लागि आफूहरु सकारात्मक र, सोही बिषयलाई ड्राफ्ट गरेर सरकारलाई बुझाउने बताएका हुन ।

maya metro hospital

कार्यक्रमको अध्यक्षता गरेका सांसद मानबहादुर विश्वकर्माले मेडिकल विश्वविद्यालय बनाउने कुरा सुदूरपश्चिमका लागि मात्रै नभएर देशकै लागि खुसिको कुरा भएका बताए । ‘मेडिकल विश्वविद्यालय बनाउने अभियानमा हामीले कुन ठाउँबाट कसरी बोल्ने हो । मन्त्रालय प्रधानमन्त्री सबैलाई यस क्षेत्रका माग जस्ताको त्यस्तै राख्ने छौ’ उनले भने ‘नेपालमै अहिले सम्म मेडिकल विश्वविद्यालय छैन । यस क्षेत्रमा मेडिकल विश्वविद्यालय स्थापना भएमा नेपालकै लागि यो नयाँ ईतिहास हुने छ ।’ उनले राम्रो कामका लागि गरिएको अभियानमा आफूहरुले सधै साथ दिने बताए । उनले विश्वविद्यालयका लागि यस क्षेत्रमा भएको सघर्णका कार्यक्रममा एकरुपता देखिएकाले यसले मुर्त रुप पाउनेमा आफू ढुक्क भएको बताए ।

सांसद चित्रलेखा यादवले गेटामा किन मेडिकल कलेज बनाउने भन्ने कुराको बारेमा आफूहरु स्पष्ट हुने गरी बुझेको बताईन् । उनले संसदीय समितिले अन्तरक्रियामा उठेका माग जस्ताको त्यस्तै आफ्नो प्रतिवेदनमा राख्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘गेटामा मेडिकल विश्वविद्यालय हुनैपर्छ भन्ने यस क्षेत्रका जनताको माग अब म जोडदार रुपमा उठाउने छु’ उनले भनीन् ‘यसको लागि म यसै क्षेत्रको जनप्रतिनिधि हुनुपर्ने छैन । मैले यस क्षेत्रको भावना बुझे ।’ उनले राष्ट्रिय चिकित्सक विश्वविद्यालय बनाउने कुरा देशकै लागि ठूलो उपलब्धको कुरा भएको बताईन् ।

attariya hospital

सांसद अञ्जना विशंखेले यस क्षेत्रमा मेडिकलको सम्भावनाको बारेमा जानकारी लिनका लागि आफूहरु सुदूरपश्चिममा आएको बताईन् । उनले गेटामा तिब्र गतिमा भौतिक संरचना निर्माण भएकोमा आफू निकै उत्साहित भएको बताईन् ।

‘हामीले यस क्षेत्रमा आएर गेटामा निर्माण गरिएका भौतिक संरचना हेरेका छौ । यस क्षेत्रका धारणा पनि हामीले लिएका छौ’ उनले भनीन् ‘अब हामीले यस क्षेत्रका जनताको धारणालाई ड्राफ्ट बनाए । सरकार र संम्बन्धित मन्त्रालयलाई निर्देशन दिने काम गर्ने छौ ।’

सांसद नविना लामाले व्यक्तिगत रुपमा यस क्षेत्रका मागहरुमा आफ्नो सहमत रहेको बताईन् । ‘अन्तरक्रियामा सहभागिता कुरा सुन्दा सुदूरपश्चिमलाई कर्णाली पुलले मात्रै जोडेको अनुभूति भयो’ उनले भनीन् ‘यहाँ मेडिकल कलेज बनाउने कुरा त छदैछ । यसलाई मेडिकल विश्वविद्यालय बनाउने कुरा मुख्य हो । यसका लागि गेटामा निर्माण गरिएका संरचना र भूगोल प्रयाप्त छ ।’ उनले गेटामा मेडिकल विश्वविद्यालय बनाउनका लागि यस क्षेत्रको नागरिक समाज, सामाजसेवी, राजनीतिक दल र स्थानीय एकजुट हुन आवश्यक रहेको बताइन् । उनले यस क्षेत्रका जनताको मागमा सहयोग गर्न आफू सधै तयार रहेको बताईन् ।

सांसद दिपक भट्टले सुदूरपश्चिम देशमै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछाडी परेकाले यसलाई क्षतिपुर्ती सहित मेडिकल विश्वविद्यालय बनाउनु पर्ने बताए । उनले सुदूरपश्चिम सधै विकासका क्षेत्रमा ठगिएको बताए । ‘अब हामीलाई यो क्षेत्रमा मेडिकल युनिभर्सीटी नै चाहिन्छ । हामीले आगामी दिनमा देशलाई नै योगदान गर्न सक्ने हिसाबले अगाडी बढ्नु पर्छ’ उनले भने ‘यसका लागि हामी एक कदम अगाडी बढेका छौ । अब हामीले भनेका कुरा सुनिन्छन भन्नेमा हामी आशाबादी छौ ।’ उनले संघ, प्रदेश र स्थानीयको भनाइ फरक–फरक आइरहेकाले यो कुनै पनि मोडेलमा अगाडी नबढ्ने हो कि भन्ने कुरामा पनि सजक रहन आवश्यक रहेको बताए ।

सांसद नारदमुनी रानाले आफूहरुले गेटामा मेडिकल विश्वविद्यालय बनाउन निरन्तर आवाज उठाइरहेको बताए । उनले लगातार आश्वासन पाएपनि अहिले सम्म यसको मोडालिटीका बारेमा टुङ्गो लाग्न नसकेको बताए । ‘यसका लागि लेखराज भट्टको पनि ठूलो योगदान छ । तर, अहिले वहाँको नाम लिइदैन’ उनले भने ‘हामीले यसका लागि सुरुवात देखि संघर्ष गर्दै आएका छौ । त्यसैको परिणाम स्वरुप अहिले यस क्षेत्रमा भौतिक रुपमा ठूलो उपलब्धि भएको छ ।’

सांसद योगेस भट्टराईले गेटामा छिटो भौतिक संरचनाको काम सकेर छिटो भन्दा छिटो संचालनको लागि आफूहरु अनुगमनमा आएको बताए । उनले गेटामा मेडिकल कलेज संचालनमा आए यसले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने बताए ।

‘यस क्षेत्रका जनताको धारणा अनुसार हामीले निचोड निकालेर यस क्षेत्रको मागलाई अगाडी बढाउने छौ’ उनले भने ‘हाल नेपालमा मेडिकल विश्वविद्यालय नभएको अवस्थामा यस क्षेत्रका जनताको धारणा अनुसार अगाडी बढ्ने छौ ।’

अंन्तरक्रिया कार्यक्रममा प्रदशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका प्रतिनिधि, नागरिक अगुवा, सामाजसेवी र बिभिन्न राजनीतिक दलका अगुवाहरुले आफ्ना धारणा राखेका थिए । अन्तरक्रियामा धारणा राख्ने सबैले गेटामा मेडिकल विश्वविद्यालय नै बन्नुपर्ने जोड दिएका थिए ।

यसैबिच संघर्ष समितिले ३ सय शैय्याको अस्पताल तत्काल संचालन र राष्ट्रिय चिकित्सा शास्त्र विश्वविद्यालय स्थापना गरियोस भन्ने २ बुदे माग सहितको ज्ञापन पत्र संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई बुझाएको थियो । यसअघि उक्त संघिय संसदीय समितिले गेटा मेडिकल कलेज निर्माण स्थलको अवलोकल गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.