अत्तरिया – कैलालीको गेटामा करिव साढे ४ अर्वको लागतमा अस्पताल, कलेज, छात्रवास, आवास लगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका छन । ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएका उक्त भवनमा चिकित्सा शिक्षाको अध्यापनसंगै ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारले लक्ष्य लिएको थियो ।
जसअन्तरगत सरकारले आर्थिक वर्ष २०६६/०६७ मा प्रस्तावित मेडिकल कलेज निर्माणको घोषणा गरेको भएपनि भौतिक संरचना निर्माणको काम भने २०७३ सालदेखि सुरु भएको थियो । हाल प्रस्तावित मेडिकल कलेजको ९० प्रतिशत भौतिक संरचनाको काम सकिएको भएपनि यसलाई कुन मोडालिटी (प्रारुप) मा संचालन गर्ने भन्ने बहस जारी नै छ ।

सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा पनि मोडालिटी स्पष्ट नभएपछि ‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले मेडिकलको मोडालिटीका बारेमा यस क्षेत्रका विज्ञ संग छलफल गरेको छ ।
शुक्रबार धनगढीमा संचालित ‘प्रस्तावित गेटा मेडिकल कलेज संञ्चालन, मोडालिटी सम्बन्धी विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले तत्काल अस्पताल संचालन गरी विश्वविद्यालय मोडेलमा संचालन गर्न सुझाव दिएका छन । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले पहिलो प्राथमिकता मेडिकल विश्वविद्यालयको मोडालिटीमा संचालन गरिनुपर्ने बताएका थिए ।
सेती अस्पतालका पुर्व मेसु डा. गणेश बहादुर सिहले प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको मोडालिटीमा संचालन गर्दा सबैभन्दा उपयुक्त हुने बताए । उनले मेडिकल कलेज सानो युनीट भएकाले यसलाई अन्य विश्वविद्यालयको नियन्त्रणमा चलाउनु भन्दा छुट्टै मेडिकल विश्वविद्यालयको मोडालिटीमा संचालन गरिनु पर्ने धारणा राखे ।
उनले विश्वविद्यालय बनाउन केही समय लागे पनि तत्काल अस्पताल भने संचालन गर्न आवश्यक रहेको बताए ।
‘यसलाई जुन मोडालिटीमा संचालन गरेपनि अस्पताल भने आवश्यक हुन्छ । यसका लागि दबाद पनि दिन आवश्यक छ’ उनले भने ‘सरकारले तदारुकता देखाए मेडिकल विश्वविद्यालय पनि १ महिनामा संचालनमा ल्याउन सकिन्छ ।’ उनले सरकारले ल्याएको बजेटले कुन मोडालिटीमा संचालन गर्न खोजेको हो भन्ने बारेमा झन अन्योल भएको बताए ।
‘हामीले कहिले पनि मेडिकल कलेज माग गरेका थिएनौ । २०६८ सालमा पनि मेडिकल कलेजको परिकल्पना अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान माग गरिएको थियो’ उनले भने ‘स्वास्थ्य विज्ञान पतिष्ठान पनि विश्वविद्यालय जस्तै हुन्छ । प्रतिष्ठानमा राजनीति खेल मैदान बन्न सक्ने भएकाले यसलाई विश्वविद्यालयमा लैजान सबैभन्दा बढी उपयुक्त हुन्छ ।’ उनले विश्वविद्यालय मोडालिटीमा संचालन गर्न सके यो नेपालको पहिलो मेडिकल विश्वविद्यालय हुने बताए ।
डा. प्रदिप मिश्र र डा. खगेन्द्र राज भट्टले पनि गेटा मेडिकल विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिए । डा. मिश्रले यसको मोडालिटीको बारेमा गठन भएका सबैजसो समितिले प्रतिष्ठान वा विश्वविद्यालयको मोडालिटीमा संचालन गरिनुपर्ने प्रस्ताव पेश गरेको भएपनि अहिले सरकारले ल्याएको बजेटले झन दोधार गरेको बताए ।
उनले अस्पताल संचालन गर्ने भन्ने विषय राम्रो भएपनि संचालनको मोडालिटीका बारेमा भने स्पष्ट नभएकाले अझै यसका लागि संघर्ष र बहस गर्न आवश्यक भएको बताए ।
डा. भट्टले मेडिकल कलेज संचालनका लागि थुप्रै चुनौती भएकाले यसलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडी बढाउदा उपयुक्त हुने बताए । उनले यसको मोडालिटीका बिषयमा निर्माण सुरु भएदेखि छलफल हुनेपर्नेमा निकै ढिलो छलफलका कार्यक्रम भएको बताए ।
‘मोडालिटीमा ढिलो भएपनि तत्काल अस्पताल चलाउन आवश्यक छ’ उनले भने ‘इच्छाशक्ति भयो भने मोडालिटीले खासै फरक पर्दैन । जुन मोडालिटीमा गएपनि संचालन गर्न सकिन्छ ।’
नागरिक समाजका प्रमोद पाठकले गेटामा तत्काल अस्पताल संचालन गरी गेटा मेडिकल विश्वविद्यालयका रुपमा अगाडी बढाइनु पर्ने बताए ।
‘सुबिधा सम्पन्न अस्पताल संचालन गर्न सकेमा भारतमा उपचारका लागि जाने समस्या हट्छ’ उनले भने ‘मेडिकल विश्वविद्यालयको तयारी हुँदै गर्दा तत्काल अस्पताल चलाउँदै गरौं ।’ उनले तिव्र गतिमा यसको काम अगाडी बढाउनको लागि संघर्ष समितिले काठमाण्डौंमै गएर दबावका कार्यक्रम संचालन गर्न आवश्यक रहेको धारणा राखे ।
सुदूरपश्चिम विश्वविद्यालयका अर्थविद् डा. राजेन्द्र चन्दले भने तत्काल मेडिकल कलेज बनाएर पछि विश्वविद्यालयमा रुपान्तरण गर्न सकिने बताए ।
उनले मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त भएपनि तत्काल त्यो सम्भव नभए अन्य विश्वविद्यालयको मातहतमा रहने गरी मेडिकल कलेज संचालन गरेर पछि विश्वविद्यालय बनाउन सकिने बताए ।

‘सुरुमा महेन्द्रनगरमा विश्वविद्यालय र गेटामा मेडिकल कलेज बनाउने कुरा आएको हो’ उनले भने ‘यसलाई हाल जुन मोडालिटीमा लगेपनि तत्काल हस्पिटल संचालन हुन आवश्यक छ ।’ उनले प्रतिष्ठान भन्दा विश्वविद्यालय उपयुक्त भएको र, प्रतिष्ठान र विश्वविद्यालयमा खासै अन्तर नरहेको बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका प्रोफेसर हरिकृष्ण कडायले प्रस्तावित गेटा मेडिकल कलेजको मोडालिटीमा पहिलो प्राथमिकता मेडिकल विश्वविद्यालयलाई नै दिनुपर्ने बताए । उनले यो सम्भव नभएमा भने सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहने गरी मेडिकल कलेज संचालन गरिनुपर्ने बताए ।
‘सुदूरपश्चिम विश्वविद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनपर्छ’ उनले भने ‘सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत यसलाई संचालन गर्नै सकिदैन भनेर अतिरन्जित बढी भएको छ । बरु सुदूरपश्चिम विश्वविद्यालय पनि यस क्षेत्रकै शैक्षिक धरोहर भएकाले यसको सुधारमा पनि लाग्न आवश्यक छ ।’
कैलाली बहुमूखि क्याम्पसका पुर्व प्रोफेसर सुरेन्द्र बहादुर चन्दले यसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत राखेर संचालन गर्न नहुने धारणा राखे । उनले गेटा मेडिकल विश्वविद्यालयका रुपमा अगाडी बढाउनका लागि दबाव दिन आवश्यक रहेको बताए ।
‘यसै संसदबाट यसको मोडालिटी पास गरेर ऐन बनाउन दबाव दिन आवश्यक छ’ उनले भने ‘संघिय र प्रदेश चुनाव अघि यो कामका लागि दवाव दिन सके काम छिटो हुन सक्छ ।’
कैलाली बहुमुखि क्याम्पसका प्रोफेसर तथा प्रजातान्त्रीक प्राध्यापक संघका केन्द्रिय उपाध्यक्ष जगन्नाथ जोशीले प्रस्तावित गेटा मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालय भन्दा पहिले जन्मेकाले यसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत राख्न नहुने तर्क गरे । उनले गेटा मेडिकल विश्वविद्यालयको माग पुरा नहुँदा सम्म संघर्षका कार्यक्रम जारी राख्नुपर्ने बताए ।
शिक्षाविद् शिवहरी दत्त मुडभरीले प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत राख्नको लागि उक्त विश्वविद्यालयमा मेडिकल डिपार्टमेन्ट नै नभएको बताए । उनले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनमा कुनै दुबिधा राख्न नहुने बताए ।
‘राज्यलाई कन्भेन्स गरेर यसलाई फास्ट ट्रयाकमा लगेर संचालन गर्न आवश्यक छ’ उनले भने ‘त्यो भन्दा अगाडी तत्काल हस्पिटल भने संचालन गरिनु पर्छ ।’
टीकापुर बहुमुखि क्याम्पसका प्रमुख प्रा. डा. जगत बहादुर सिह रावलले सरकारले स्थानीयको धारणा नलिई कुनै पनि निर्णय लिन नहुने बताए । ‘जुन मोडालिटीमा गएपनि सेवा गुणस्तर कसरी कायम गर्ने भन्ने बिषयमा ध्यान दिन आवश्यक छ’ उनले भने ‘यसलाई कुन मोडालिटीमा लग्ने भन्ने बिषयमा यस क्षेत्रको माटो सुहाउँदो निर्णय गर्नुपर्छ ।’
उनले प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय अन्तरगत नै संचालन गर्ने भए सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत राखे यस क्षेत्रको गौरब बढ्ने बताए ।
इन्सेक सुदूरपश्चिम प्रदेशका प्रवन्धक खडक जोशीले जनताको भावना नबुझि सरकारले योजना अगाडी बढाउनु यस क्षेत्रका जनताको अधिकारको हनन् भएको बताए । उनले सुदूरपश्चिम सधै पछाडी पारिएकाले यस पटक क्षतिपुर्ति सहित प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडी बढाउनु पर्ने बताए । उनले अहिले यसका लागि भइरहेका संघर्षका कार्यक्रम पनि स्पष्ट रुपमा अगाडी बढ्नुपर्ने बताए ।
प्रध्यापक खेम राज पन्तले भने प्रस्तावित गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान हुने आशा गरेको भएपनि बजेट भाषणमा राज्यले घात गरेको बताए । उनले सरकारले अहिले एकाएक प्रस्तावित गेटा मेडिकल कलेजलाई सम्बन्धित विश्वविद्यालय अन्तरगत चलाउने भनेर झन अन्योल कायम गरेको बताए ।
सामाजिक विकास मन्त्रालयका दया कृष्ण पन्तले संघिय सरकारले २ अर्ब बजेट छुट्याएको भएपनि यसलाई कुन मोडेलमा लग्ने भन्ने स्पष्ट शिर्षक नखुलाएको बताए । उनले प्रस्तावित गेटा मेडिकल कलेजको मोडालिटी नटुङ्गिएकाले २ अर्ब बजेट डल्लो बजेटका रुपमा पनि आएको हुन सक्ने बताए ।
उनले मोडालिटी अगाडी तत्काल अस्पताल संचालन गर्न आवश्यक रहेको बताए । ‘सुदूरपश्चिम विश्वविद्यालयले यसलाई तत्काल संचालन गर्न सक्दैन’ उनले भने ‘यसलाई छुटै मेडिकल विश्वविद्यालय नै बनाउनु पर्छ ।’
अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार मनमोहन स्वार, दिलबहादुर छत्यालले पनि प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाएर संचालन गर्न उपयुक्त हुने धारणा राखेका थिए । पत्रकार स्वारले मेडिकल कलेजका बिषयमा यस क्षेत्रका जनतालाई आपसमा लडाउने काम भएको बताए । उनले गेटामा तत्काल अस्पताल संचालन गरी जनताले उपचार पाउनु पर्ने बताए । पत्रकार छत्यालले मेडिकलको मोडालिटीका बारेमा सबैको साझा धारणा बनाउन आवश्यक रहेको बताए ।
दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका प्राचार्य डम्मर पालले छलफलको निष्कर्ष सुनाउँदै प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनु पर्ने छलफलको निष्कर्ष निस्किएको बताए । उनले कुनै कारणबस मेडिकल विश्वविद्यालय नबनेको खण्डमा मात्रै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउन सकिने बताए ।
‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ का संयोजक लोक राज पाण्डे (आगो) को अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा संघर्ष समितिका सह संयोजक आनन्द भट्टले कार्यक्रमको बारेमा जानकारी राखेका थिए भने समितिका सचिव धर्म सिह कुँवरले कार्यक्रमको संचालन गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा ४६ जनाको सहभागिता रहेको थियो ।
संघर्ष समितिले प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल संचालन गरी चिकित्सा शिक्षाको अध्यापन नहुँदा सम्म दबावका कार्यक्रम जारी राख्ने जनाएको छ ।




















