धनगढी – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साथ लिएर धनगढी उपमहानगरपालिकाको मेयर पदमा साझा उम्मेदवार उठाएको नेपाली कांग्रेसका नेताहरु आन्तरिक विवाद मिलाउन सक्रिय भएका छन् । गत फागुनमा सम्पन्न भएको जिल्ला अधिवेशन र स्थानीय तहमा टिकट वितरणको विषयलाई लिएर कांग्रेसभित्रको किचलो बढ्दै गएपछि स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरु विवाद मिलाउन सक्रिय भएका छन् ।
पार्टीभित्रको आन्तरिक विवादकै कारण ३० वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा समस्या पर्न सक्ने विश्लेषण सहित पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा धनगढी आइपुगेकी छन् । सोमबार धनगढी पुगेकी आरजुले आन्तरिक समस्या मिलाउन स्थानीय स्तरका नेताहरुबीच छलफल सुरु गरेकी छन् । धनगढीस्थित निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै आरजुले पार्टीभित्रका सबै मान्छे मन पर्छन् भन्ने नहुने तर मतभेद् हुँदैमा पार्टीलाई हराउन लाग्न नहुुने बताइन् ।


‘पार्टीमा मन नपर्ने मान्छे पनि हुन्छन् । परिवारमा पनि मन नपर्ने मान्छेहरु हुन सक्छन् तर मन पर्नेलाई त साथी मात्र बनाउन सकिन्छ,’ आरजुले भनिन्, ‘आपसी मतभेद पनि होला तर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्नु हुँदैन् । सबैलाई भन्न चाहान्छुु की भोट आफ्नै पार्टीका उम्मेदवारलाई नै हालौं ।’
उनले स्थानीय तहको निर्वाचनमा वडाबाट हालिने भोट सबैभन्दा महत्वपूर्ण भएकाले यसले नै प्रदेश र स्थानीय सरकार कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्ने भन्दै गम्भीर हुन आग्रह गरिन् । मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालप्रति लक्षित गर्दै उनले भनिन्, ‘अहिले नेपालमा हामीले फलो गर्ने भनेकै मल्टि पार्टी सिस्टम हो । पार्टीगत हिसाबले नै देशको प्रणाली सञ्चालन भइरहेको छ । कुनै व्यक्ति आएर यहाँ मेयर भए उसको केन्द्रमा प्रतिनिधित्व गर्ने माध्यम के हो ? प्रदेशमा जानु पर्ला, समन्वयात्मक भूमिका पनि खेल्नुपर्ला नि। कुनै पनि ठाउँमा कसैलाई कल गर्न नसक्ने, पार्टीगत लाइन नहुने नेताहरुले धनगढीलाई के गर्न सक्छन् ।’
उनले हातखुट्टा नभए टाउकोले मात्र केही गर्न नसकिने बताउँदै मेयरलाई जिताउन नसकेको खण्डमा वडा जितेर कुनै मतलब नहुने टिप्पणी गरिन् । धनगढी उपमहानगरपालिकामा कुशल नेतृत्व गरेकै कारण कांग्रेसले पुनः वडलाई टिकट दिएको उनको भनाइ थियो ।
स्वतन्त्र उम्मेदवार आफ्नो साथी र नातागोता पर्ने भएकाले व्यक्तिगत असहमति नभएको तर दलीय प्रणालीमा व्यक्तिवादलाई स्वीकार गर्न नसकिने उनले बताइन् । ‘यहाँ कोही मान्छे मन प¥यो भनेर भोट हाल्ने तर माथिल्लो तहको सरकारमा उसको लिडर को हो ? जनताको १० रुपैयाँको मास्कलाई दुई सय रुपैयाँमा बेच्ने, अक्सिजन नहुँदा रित्तो सिलन्डर ल्याएर पोज गर्ने लिडर छान्ने त ?’ उनको प्रश्न थियो ।



















