अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ नेकपा एमाले गोदावरी नगर कमिटी सदस्य अमर राज पाठकले वडा अध्यक्षमा चुनाव लड्न एमालेको वडा कमिटीमा आफ्नो नाम टिपाए । वडामा उनी सहित पार्टीबाट ४ जनाले आफ्नो दावी पेश गरेपछि वडाले पाठक सहित ३ जनाको नाम नगरमा पठायो ।
पाठकले जिल्लाबाट आफ्नो नाममा टिकट सिफारिस भएर आएको भएपनि पछि नगरमा चलखेल गरेर अर्कैको नाम राखिएको दावी गरेका छन ।

उनका अनुसार बैशाख ११ गते सम्म आफ्नो नाम वडा अध्यक्षमा भएपनि मनोनय गर्दा भने आफ्नो नाम काटिएको बताएका छन ।
एमालले गोदावरी नगरको निर्वाचन अधिकृतको कार्यालयमा बैसाख १२ गते आफ्नो मनोनय दर्ता गरेको थियो ।

एमालले वडा नम्बर ७ बाट कलावती साउँदलाई उम्मेदवार बनाएको छ । पाठकले भने अचानक नाम काटिएकोमा चर्को बिरोध गरेका छन । ‘मेयर हरी सिह साउँदको घरमै धरना दिदाँ मेरो नाम काटी कलावती साउँदको नाम राख्न लगाए’ उनले भने ‘जिल्लाले निर्णय गरेको बिचमा केही व्यक्तिले नाम कटाए ।’
उनले आफूले फेसबुकमा टिकट पाएको बधाई मात्रै पाएको र, अन्तिममा टिकट अरुलाई दिइएको भन्दै खिन्नता व्यक्त गरेका छन ।
२०६० सालमा प्रजातन्त्र राष्ट्रिय युवा संघको सदस्यता लिएका पाठकले २०६१ सालमा नेकपा एमालेको साधारण सदस्यता लिएको थिए ।
पाठक तत्कालिन श्रीपुर गाविस वडा नम्बर ४ को वडा अध्यक्ष हुँदै २०७४ सालमा गोदावरी नगर कमिटी सदस्य र २०७८ मा कैलाली जिल्ला अधिवेशन प्रतिनिधि रहेका थिए ।
उनले आफ्नो वहलमा वडामा थुप्रै विकास योजनाका काम समेत गरेको बताएका छन । उनी हाल लक्ष्मी सामुदायिक वन र चण्डेश्वर आधारभूत विद्यालयको अध्यक्ष समेत रहेका छन ।

















