अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका टेक विकले पुतली चुनाव चिन्ह पाएका छन । शनिबार निर्वाचन अधिकृतको कार्यालय गोदावरीले बिकलाई चुनाव चिन्ह पुतली दिएको हो ।
नेकपा एकीकृत समाजवादी गोदावरी नगरका अध्यक्ष समेत रहेका बिकले बैसाख १२ गते मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पार्टी भित्रबाटै मेयरमा आकांक्षा राखेका बिकले गोदावरीमा गठबन्धन भएपछि नेपाली कांग्रेसले मेयर पाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


उनले आफूले कसैको विरुद्ध उम्मेदवारी दिएको नभएर यस क्षेत्रका गरिब, विपन्न, पछाडी पारिएका समुदायको हक हितको लागि उम्मेदवारी दिएको बताएका छन ।
‘सम्पन्न गोदावरी बासी, समृद्ध गोदावरी’ भन्ने नाराका साथ चुनावमा होमिएका बिकले आफ्नो चुनावी एजेण्डाका रुपमा नगरबासिलाई उत्पादन संग जोड्ने, एक वडा एक उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकरण यान्त्रिकरण गर्ने, प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, एउटा वडामा कम्तिमा पनि एउटा नमूना विद्यालय बनाउने र प्रत्येक घरमा शुद्ध खानेपानी पु¥याउने उनका योजना छन ।
उनले गरिब दलित विपन्न परिवारका विद्यार्थीका लागि छुटै छात्रवृति कोषको स्थापना गर्ने, प्रत्येक घर सबै साक्षरको अवधारणा अन्तरगत काम गर्ने, गोदावरीका बुढीतोला, बडीमछेली, नाइल, हाटाखोलीलाई धार्मीक, पर्यटकीय स्थलका रुपमा व्यवस्थापन गर्ने, छाडा पशु व्यवस्थापनका लागि योजना बनाई व्यवस्थित गर्ने, प्रत्येक वडालाई उत्पादन संग जोडेर स्वरोजगार बनाउने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने, ऐलानी सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने, गोदावरी भित्रका अति विपन्न र गरिबका घर निर्माण गर्ने लगायतका योजना अघि सारेका छन ।


















