खाेज्नुहाेस

माओवादी सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टको अधिकार खोसियो

Image

धनगढी  – स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ ।

निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उनको अधिकार खोसेको हो ।माओवादी केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको छ ।माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको पुष्टि गरे ।

attariya hospital

‘यसअघि अध्यक्ष निर्वाचित नभएकाले इन्चार्जलाई जिम्मा दिइएको थियो, अहिले अध्यक्ष निर्वाचित भइसकेकाले अध्यक्षकै हस्ताक्षर चल्छ’ उनले भने । यसअघि इन्चार्ज भट्टले गरेको हस्ताक्षर मान्य हुने तर अबदेखि भने चौधरीको हस्ताक्षर चल्ने ढकालले बताए ।

शुक्लाफाँटाबाट बढ्यो विवाद

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम इञ्चार्जको रुपमा खगराज भट्ट थिए । त्यसैले चुनावमा मनोनयन पत्र दर्ता लगायतका काममा निर्वाचन आयोगको अभिलेखमा भट्टको हस्ताक्षर चल्थ्यो । तर पार्टीको कार्यकारी प्रदेश समिति हो ।

त्यसैले तल्ला कमिटीबाट आएका सिफारिसको आधारमा भट्टको समेत उपस्थितिमा प्रदेश समितिले कुन पालिकामा कसलाई उम्मेदवार बनाउने भनेर निर्णय गर्नुपर्थ्यो ।

स्रोतका अनुसार ती निर्णयमा केही स्थानमा भट्टले हस्तक्षेप गरे र उम्मेदवारको नाम परिवर्तन गरी पठाए । त्यसमध्येको एक हो कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयर उम्मेदवार चयनको विषय ।

नगर कमिटीले पहिलो नम्बरमा लोकबहादुर ऐरलाई शुक्लाफाँटाको मेयर उम्मेदवार बनाउन सिफारिस गरेको थियो । जिल्ला संयोजक खेम पाण्डेले पनि लोकबहादुरलाई नै सदर गरे । त्यसैको आधारमा प्रदेश समितिले लोकबहादुरलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो ।

navjiwan hospital

तर भट्ट भने लोकबहादुरलाई नभई नवराज ऐरलाई उम्मेदवार बनाउनुपर्ने अडानमा थिए । नवराज पूर्वगृहमन्त्री जनार्दन शर्माको सचिवालयमा र सभामुख अग्नि सापकोटाको सचिवालयमा समेत थिए ।

स्थानीय नेताहरुका अनुसार सत्ता गठबन्धनमा भागबन्डा गर्दा शुक्लाफाँटा नगरपालिकामा मेयर माओवादी केन्द्रले लिने र उपमेयर एकीकृत समाजवादीले लिने तय भएको थियो ।

सोही अनुसार माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी तथा इञ्चार्ज भट्ट दुबैले मेयरमा लोकबहादुर ऐरलाई सिफारिस गरेका थिए । तर, उम्मेदवारी दर्ता गर्दा भट्ट आफैं निर्वाचन अधिकृतको कार्यालय गएर लोकबहादुरको सट्टा नवराजको उम्मेदवारी दर्ता गराउन भूमिका खेलेका थिए ।

त्यसबाट असन्तुष्ट लोकबहादुरले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराए । यसरी शुक्लाफाँटाको मेयर उम्मेदवार माओवादी केन्द्रबाट दुई जना भए ।

आधिकारिकताको विवाद उठेपछि भट्टले आफू प्रदेश कमिटी इञ्चार्ज रहेको र आफ्नो हस्ताक्षर नै आधिकारिक हुने भन्दै नवराजको पक्ष लिए । त्यसपछि सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले विज्ञप्ति निकालेर नवराज ऐर माओवादी केन्द्रको आधिकारिक उम्मेदवार भएको सार्वजनिक गरे ।

माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ताहरुले नवराजको उम्मेदवारी दर्ताको विरोध गरे । त्यसपछि यो विवाद प्रदेश हुँदै पार्टी केन्द्रमा पुग्यो ।

‘यही विवादपछि माओवादी केन्द्रीय कार्यालयले लोकबहादुरको स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न लगाउने र खगराज भट्टले पार्टीको निर्णय विपरीत काम गरेकाले आइन्दा उनको हस्ताक्षर निर्वाचन प्रयोजनका लागि नचल्ने निर्णय गर्यो’, माओवादी स्रोतले भन्यो ।

‘निर्वाचनकै सन्दर्भमा अझै पनि धेरै कामहरु बाँकी छन् । तर भट्टजीले कतिबेला के गर्दिनुहुन्छ ठेगान छैन, त्यही भएर केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर चल्ने निर्णय गरेको छ,’ स्रोतले भन्यो ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतले पनि अबदेखि भट्टको सट्टा चौधरीको हस्ताक्षर भएको पत्रलाई मात्र मान्यता दिन भनेर माओवादी केन्द्रले जानकारी गराएको पुष्टि गर्यो ।

निर्वाचन कार्यालयका एकजना कर्मचारीले भने, ‘निर्वाचन प्रयोजनका लागि आइन्दा प्रदेश अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भनेर माओवादी केन्द्रीय कार्यालयले हामीलाई जानकारी गराएको छ ।’