धनगढी – नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ५८ जना क्रियाशील सदस्यले राजीनामा दिएका छन । टिकट वितरण एकोहोरो ढंगले गरेको भन्दै ५८ जना क्रियाशील सदस्यले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन ।

‘धनगढी उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो’, पत्रकार सम्मेलनमा वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले भने । ‘कसैसँग पनि छलफल नगरी वडा कार्य समितिले तीनजना अध्यक्ष पदका आकांक्षको नाम सिफारिस गर्यो ।’

पार्टीको विधान विपरीत ०७४ निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी भई कारबाहीको सिफारिसमा परेको व्यक्तिलाई टिकट दिएकोप्रति आपत्ति रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
कांग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवार बनाएको छ । उक्त पार्टीले कारबाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यको हस्ताक्षर सहित अगाडि नबढाउने जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको असन्तुष्टहरुले जनाएका छन् ।

















