अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६ वडाअध्यक्षले दोहोरीएर वडाअध्यक्षमा उम्मेदवारी दिएका छन । नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट २ र एकीकृत समाजवादीबाट २ जना वडाअध्यक्षले पुनः उम्मेदवारी दिएका हुन ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट वडानम्बर १ को वडा अध्यक्षमा विजयी भएका शर्मानन्द भट्टले नेकपा एमालेबाट यस पटक अध्यक्षमा उम्मेदवारी दिएका छन । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष कृष्णराज जोशी पुनः एमालेबाटै वडा अध्यक्षमा उम्मेदवारी दिएका छन ।

कांग्रेसबाट २०७४ सालको चुनावमा वडा अध्यक्षमा निर्वाचित वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही र वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले पुनः अध्यक्षमा उम्मेदवारी दिएका छन ।

२०७४ सालको चुनावमा एमालेबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादी रोजेका वडा नम्बर ५ का अध्यक्ष कर्ण सिंह बोहरा र वडा नम्बर ११ मा शिव विकले पुन समाजवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन ।
अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका वडा नम्बर ३ का अध्यक्ष मोहन बहादुर खत्री, वडा नम्बर ४ का अध्यक्ष प्रेम राज भण्डारी र वडा नम्बर ९ मा लहनु चौधरी भने दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छैनन् ।
यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा चुनाव जितेका वडा नम्बर ६ मा बिर बहादुर चोखाल, वडा नम्बर ७ मा हेमराज ओझा र वडा नम्बर ८ मा नरेश बहादुर अधिकारी पनि दोहरीएका छैनन् ।
अघिल्लो निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित हरी सिह साउँद यस पटक चुनावमा उठेका छैनन् भने उपमेयरमा निर्वाचित रत्ना कडायत भने यस पटक पनि एकिकृत समाजवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी छिन ।
उनी यसअघिको चुनावमा एमालेबाट निर्वाचित भएपनि एमाले विभाजन हुँदा उनले एकीकृत समाजवादी रोजेकी थिइन । मेयरमा एमालेले साउँदको ठाउँमा यस पटक गोकर्ण भट्टलाई उम्मेदवार बनाएको छ ।

















