धनगढी – धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले सवारी फिर्ता गर्न थालेका छन् । नगर प्रमुख नृपबहादुर वडले मंगलबार आफूले प्रयोग गर्दै आएको सेतो नम्बर प्लेटको बा.२ च. ३८९२ नम्बरको गाडी फिर्ता गरेका थिए भने यसअघि नै वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल र वडा नम्बर ४ का अध्यक्ष दिपककुमार थापा क्षेत्रीले आफुले प्रयोग गर्दै आएको मोटरसाईकल फिर्ता गरेका थिए ।
वडा अध्यक्ष बरालले से १ ब ६०८ र थापा क्षेत्रीले से १ ब ६०४ नम्बरको मोटसाईकल सोमबार उपमहानगरपालिको जिन्सी शाखामा फिर्ता गरेका हुन ।

बुधबार थप वडा नम्बर १२, १३, ६ र ११ नम्बर वडाका अध्यक्षले सवारी फिर्ता गरेको जिन्सी शाखाले जनाएको छ ।

वडा नम्बर १२ का अध्यक्ष गणेश प्रसाद जोशीले प्रयोग गर्दै आएको से १ ब ६१२, वडा नम्बर १३ का अध्यक्ष विजय राज जोशीले प्रयोग गर्दै आएको से १ ब ६१३, वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले प्रयोग गर्दै आएको से १ ब ६०६ र वडा नम्बर ११ का अध्यक्ष गंगाराम रानाले प्रयोग गर्दै आएको से १ ब ६११ नम्बरको मोटरसाईकल बुझाएको जिन्सी शाखाले जनाएको छ । दिउँसोसम्म नगर प्रमुख वडले चढ्दै आएका एक वटा स्कारपियो र वडा अध्यक्षले प्रयोग गर्दै आएका ६ वटा मोटरसाईकल कार्यालयमा बुझाईसकेको जिन्सी शाखाले जनाएको छ । धनगढी उपमहानगरपालिकामा १९ वडा रहेका छन् ।
वडा नम्बर ४, ८, १२, १३ का अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् भने वडा नम्बर ६ र ११ का वडा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरिएको नगर प्रमुख र वडा अध्यक्षले बताएका छन् ।
नगर प्रमुख वड दोश्रो कार्यकालका लागि पुनः नेपाली काँग्रेसको तर्फवाट धनगढी उपमहानगरपालिकाको मेयर पदका प्रमुख दावेदार हुन् ।
आफुले प्रयोग गर्दै आएको सवारी सधान फिर्ता गर्न उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्षलाई निर्देशन दिइसकेको नगर प्रमुख वडले बताए ।
उनीहरुले उपमहानगरपालिकाले दिएको मोबाईलको सिम समेत फिर्ता गरेका छन् ।

















