अत्तरिया – कैलालीमा ४ दलले गठबन्धन गरेर चुनाव लड्ने भएका छन । जनता समाजवादी पार्टी (जसपा) कैलाली, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीले छुटै गठबन्धन गरेर चुनाव लड्ने घोषणा गरेका हुन ।
उनीहरुले शनिबार सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै चुनावमा गठबन्धन गर्ने जनाएका छन । विज्ञप्तीमा जनपक्षिय रुपमा पहिचान र अधिकारका खातिर संघर्षरत रहेका दलले चुनावमा गठबन्धन गरेर जाने भन्ने सैद्धान्तिक वैचारिक र कार्यनीतिगत सहमती भएको उल्लेख छ ।

विज्ञप्तीमा अन्य दलहरुसंग पनि आवश्यकता अनुसार चुनावी गठबन्धन गर्न सकिने उल्लेख छ ।
‘आवश्यकता अनुसार अन्य राजनीतिक दलहरुसंग पनि चुनावी गठबन्धन गर्नका लागि आवश्यक प्रक्रियामा जाने सहमती भएकाले यस गठबन्धनमा आवद्ध दलका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई गठबन्धनले आव्हान गरे अनुरुप निर्वाचन प्रतियामा होमिन यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदछौ’ विज्ञप्तीमा भनीएको छ ।
विज्ञप्तीमा गठबन्धन गर्नुका आधार पनि उल्लेख गरिएका छन ।

यस्ता छन गठबन्धनका आधार
१. नगरपालिका गाउँपालिकाको प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको हकमा तत् तत्दलको चुनाव चिन्ह प्रयोग गर्ने ।
२. वडा अध्यक्षको हकमा अध्यक्षले प्रयोग गर्ने चुनाव चिन्ह वडाको प्यानलमा प्रयोग गर्ने ।
३ गठबन्धनको नीति निर्देशन इमान्दारीताका साथ सबै दलका नेता कार्यकर्ताहरु पालना गर्ने गराउने ।
जसपाले केन्द्रको गठबन्धन तोड्यो
पाँच दलिय गठबन्धनमा रहेको जसपाले कैलालीमा छुटै गठबन्धनमा सहभागि गएको छ । जसपाले केन्द्रमा पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत सत्ता गठबन्धनमा नरहेका दलसँग चुनावी तालमेल गरेको हो ।
गत चैत २९ गते बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच भएको बैठकले ‘गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्न पाउने’ निर्णय गरेको थियो ।
पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् ।


















