खाेज्नुहाेस

मोहना अत्तरिया ६ लेन सडकको पाँचौँपटक म्याद थप्ने तयारी

Image

धनगढी – मोहना अत्तरिया ६ लेन सडकमा फुटपाथ तथा सर्भिस लेन निर्माणको काम अझै सकिएको छैन । चौथोपटक थपिएको आयोजनाको अवधि सकिनै लाग्दा पनि काम सम्पन्न नभएको हो ।

अहिले फुटपाथ र सर्भिस लेन निर्माणसँगै रेलिङ लगाउने, रङरोगन गर्ने, ट्राफिक संकेत र बोर्डहरू राख्ने काम भएका छैनन् । सडक कालोपत्रे गरेपछि निर्माण कम्पनीले अन्य संरचना निर्माणमा बेवास्ता गरेका छन् ।

attariya hospital
navjiwan hospital

केही दिन काम गरेर हप्तौँसम्म काम रोकिने गरेको छ । फुटपाथ निर्माण गर्दा गुणस्तरहीन ब्लक राख्न लागिएको उजुरी अख्तियारमा परेपछि एक महिनादेखि काम ठप्प छ । फुटपाथमा ब्लक लगाउने र सर्भिस लेन ग्राभेल गर्ने सडक निर्माण सम्झौतामा उल्लेख छ । फुटपाथ डेढ मिटर र सर्भिस लेन तीनदेखि साढे चार मिटरसम्म चौडा रहनेछ । आयोजना प्रमुख रामबहादुर गुरुङले थोरै काम बाँकी रहे पनि कामले गति लिन नसकेको बताए । करिब पाँच प्रतिशत काम मात्र बाँकी रहेको जानकारी दिँदै उनले केही ठाउँमा फुटपाथ पनि बनिसकेको बताए ।

१४.२ किलोमिटर लामो ६ लेन सडकलाई तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्का लगाइएको थियो । जेठ, ०७४ मा निर्माण सम्झौता हुँदा दुई वर्षभित्रै सम्पन्न गर्ने सर्त थियो । तर, सुरुको सम्झौता अवधि सकिएर तीन वर्ष बित्दा पनि आयोजनाले पूर्णता पाएको छैन ।

निर्माण कम्पनीले पाँचौँपटक म्याद थपका लागि निवेदन दिएका छन् । ‘असार मसान्तसम्मको समय माग गरेर पाँचौँपटक म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएका छन्,’ आयोजना प्रमुख गुरुङले भने, ‘अब डेढ महिनाभन्दा बढी थपिन्न । काम सक्ने ग्यारेन्टी भए मात्र म्याद थप्छौँ, नत्र जरिवाना असुल्छौँ ।’  आयोजना कार्यालयका अनुसार तीनवटै खण्डमा गरी एक अर्ब ६५ करोड लागत रहेकोमा निर्माण कम्पनीहरूले कुल रकमको करिब ९० प्रतिशत भुक्तानी लगिसकेका छन् ।