खाेज्नुहाेस

गोदावरी धामको डिपिआर बनाईदैं

Image

अत्तरिया – कैलालीको गोदावरी धामको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु गरिएको छ । गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षका लागि विनियोजन गरेको बजेटबाट डिपिआर बनाउन लागेको छ । गोदावरी क्षेत्रको समग्र विकास गर्नका लागि गोदावरी धाम क्षेत्रलाई समेटेर डिपिआर बनाउन लागिएको हो ।

जसका लागि नगरपालिकाले कन्सल्टेन्सी मार्फत काम अगाडी बढाएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले गोदावरीमा आफूखुसी संरचना निर्माण हुदाँ गोदावरी अस्तब्यस्त हुने भएकाले डिपिआर बनाउन लागिएको बताए ।

attariya hospital

‘गोदावरीलाई धार्मीक पर्यटकिय क्षेत्र बनाउनको लागि बिभिन्न धार्मीक क्षेत्र तथा आवासिय क्षेत्रको निर्माण गर्नुपर्ने हुन्छ’ उनले भने ‘यसको डिपिआर बनाएपछि हामीले पर्यटन बोर्ड या पर्यटन मन्त्रालयबाट ठूलो रकम माग गरेर काम अगाडी बढ्ने भएकाले यसको डिपिआर बनाउन आवश्यक परेको हो ।’

उनले आर्यघाट, हनुमान मन्दिर र गोदावरीको काठे पुल माथिको क्षेत्र पनि समेट्ने प्रयास गरिने बताए । उनले गोदावरी धाम माथि ठूलो बाध बाध्ने योजना बनाएको भएपनि त्यो भने अहिलेको बजेटमा समेट्न नसकिएको बताए । गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुवरले डिपिआर निर्माणका लागि नगरपालिकाबाट १७ लाख बजेट विनियोजन गरिएको बताए ।

navjiwan hospital

उनले डिपिआर भित्र गोदावरी वारी पारिका मन्दिर, गौशाला, आर्यघाट समेटिएको बताए । डिपिआरको काम सम्पन्न गर्नका लागि ३ महिना लाग्ने बताइएको छ । नगरपालिकाका सव इन्जिनियर नरेन्द्र शाहीले डिपिआरका लागि साईडमा सम्बन्धित निकाय संग छलफल गरिरहेको बताए ।

‘गोदावरी क्षेत्रभित्रका बिभिन्न समितिहरु, स्थानीय प्रतिनिधिहरु संग के के काम गर्ने भन्ने बिषयमा छलफल गरिरहेका छौ’ उनले भने ‘छलफल पछि प्राविधिक टिमले डिपिआर बनाउने छ ।’ गोदावरी धामका अध्यक्ष पदमराज जोशीले डिपिआर बनाउँदा अहिले सम्म निर्माण गरिएका संरचनाहरुलाई यथावत राखेर बनाइनु पर्ने बताए । उनले डिपिआर बनाउनु अघि सम्बन्धित सबै सरोकारवालाहरु संग छलफल गरिनुपर्ने बताए ।

‘डिपिआर बनाउने टिमले अझै हामीलाई छलफलका लागि बोलाउनु भएको छैन । वहाहरुले बोलाएपछि हामीले यस विषयमा सल्लाह दिने नै छौ’ उनले भने ‘यसअघि पनि सहरी विकास विभागले पनि गोदावरी धामको सामान्य गुरुयोजना बनाएको थियो । ति कुरा पनि यसमा समेटिनु पर्छ ।’

उनले डिपिआर बनाउँदा तटबन्ध निर्माण, मन्दिर थप गर्नुपर्ने, गोदावरीमा पर्यटकिय क्षेत्र निर्माणका लागि सरोबर निर्माण, आर्यघाट व्यवस्थापन, तलाउ निर्माण, पार्किङ निर्माण, गौशाला निर्माण लगायतका बिषय समेटिनुपर्ने बताए । उनले नगरपालिकाले बनाइरहेको डिपिआरमा आफूहरुको पूर्ण सहयोग हुने बताए । गोदावरी धामको समग्र विकासका लागि पटक पटक आवाज उठ्दै आएको भएपनि हाल सम्म पनि समग्र गोदावरी धाम समेट्ने गरी योजना बन्न सकेको छैन ।

अहिले गोदावरी धाममा मन्दिर पिच्छे छुट्टा छुटै समिति निर्माण गरेर आफूखुसी भौतिक संरचना निर्माण हुने गरेका छन । जसले गर्दा गोदावरी धामको स्वरुप झनै बिग्रने खतरा छ । गोदावरी धामको प्राचिन कालदेखि नै धार्मीक महत्व भएपनि २०७२ सालमा यहा अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला लागेपछि यसको व्यापक प्रचार प्रसार भएको थियो । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ ।

वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ । गोदावरी क्षेत्र पर्यटकिय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।