काठमाण्डौं – घरेलु मैदानमा नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी १६.१ ओभरमा ११८ रनमै समेटियो । पपुवा न्युगिनीका लागि सेसे बउले ५९ र चार्ल्स अमिनीले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेन ।


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । उनले चार ओभरमा १८ रन मात्रै खर्चिए । त्यस्तै, करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । नेपालका लागि ऐरीले ३८ बलमा पाँच चौकाको मद्दतले ५४ रन बनाए ।
त्यस्तै, करण केसीले १३ बलमा एक चौका र एक छक्काको मद्दतले ३३ रन बनाए । आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहम्मद आदिल आलमले १५ रन बनाए ।
पपुवा न्यूगिनीका लागि सेमो कमियाले तीन, चाड सोपर, कबुआ मोइया र रिले हेकुरले एक– एक विकेट लिए ।


















