अत्तरिया – कैलालीको मोहना अत्तरिया ६ लेन सडकमा लेजर स्पिड गन (सवारी गती मापन यन्त्र) बाट निगरानी गर्न थालिएको छ । ६ लेन सडकमा तिब्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले लेजर स्पिड गन मार्फत निगरानी गर्न थालेको हो ।
जसअनुसार प्रहरीले ६ लेन सडकको बजार क्षेत्रमा तिब्र गतिमा सवारी साधन चलाउने १८ ओटा सवारी साधनलाई कारवाही गरेको छ । अत्तरिया चोक देखि डेढ किलोमिटरको क्षेत्रमा प्रतिघण्टा ३० किलोमिटर भन्दा बढीको गतीमा सवारी चलाउनेबाट प्रहरीले प्रति सवारीसाधनबाट ५/५ सय जरिवाना लिएको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश राज उप्रेतीले पटक–पटक जानकारी गराउँदा पनि अटेर गर्ने गरिएपछि जरिवाना काट्न सुरु गरिएको बताए ।
उनले आगामी दिनमा नियमित रुपमा गति मापन गरिने बताए । लेजर स्पिड गनले १२० मिटर दुरीबाट गुडेर आइरहेको सवारी साधनको स्पिड पत्ता लगाउने गर्दछ ।

संकेत नराखिदा अन्योल

यसैबिच कारबाहीमा परेका सवारी साधनका चालकले भने कुन ठाउँमा कती गतीमा सवारी चलाउने भन्ने जानकारी लेखिएको संकेत बोर्ड नराखिदा अन्योल कायम भएको बताएका थिए ।
सवारी चालक नरेश सोवले ‘स्पीड स्लो’ भन्ने बोर्ड कतै पनि नराखिकनै जरीवाना गरिनु गलत भएको बताए । उनले ६ लेन सडकमा कुन ठाउँमा कति गतिमा सवारी चलाउने भन्ने जानकारी दिने बोर्ड राखिनु पर्ने बताए । ‘कुनै ठाउँमा बोर्ड छैन । कसरी कति गतिमा सवारी चलाउने भन्न थाहा हुन्छ’ उनले भने ‘कुनै ठाउँमा पनि कुनै संकेत राखिएको छैन । सिधै जरिवाना तिराइदै छ ।’
सवारी चालक उमेश बोगटीले सधै आफूले सवारी साधन चलाउने गरेको भएपनि अहिले सम्म अत्तरिया चोक क्षेत्रमा कती गतिमा सवारी चलाउनु पर्छ भन्ने जानकारी कतैबाट पनि नपाएको बताए । उनले सवारी कति गतिमा चलाउने भनेर जानकारी दिने बार्ड राखिनुपर्ने बताए । जरिवाना तिरेपछि पनि कति गतिमा सवारी चलाउने भन्ने आफूले जानकारी नपाएको उनले बताए ।
सरकारी गाडी नै कारवाहीमा
स्पीप बढी भएको भन्दै सरकारी गाडी नै कारवाहीमा परेका थिए । हुलाकी सडक धनगढीको बागमती प्रदेश १००२ झ ५८३६ नम्बरको गाडीले स्पीड बढी भएको भन्दै ५ सय जरिवाना तिरेको थियो ।

उक्त गाडीका चालक नन्द लाल भट्टले स्पिड बढी भएको भन्दै ५ सय जरिवाना तिराइएको बताए । उनले सरकारी गाडी भएकाले आफूले स्लो गाडी चलाएको भएपनि बढी स्पिड भयो भनेर जरिवाना तिराइएको बताए । उनले भने ‘धनगढीबाट अडिटरलाई नेपालगंज पुगाउँन जाँदै थिए । स्पीड बढी भनेर जरिवाना तिराइयो ।’



















