खाेज्नुहाेस

गोदावरीको भवन हस्तान्तरण नहुँदै उद्घाटन, भवन दिने दातालाई छैन जानकारी

Image

अत्तरिया – एशियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि एम/एस शर्मा एण्ड कम्पनीसंग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले नै ठेक्का सम्झौता गरेको थियो ।

सोही अनुसार हाल भवनको निर्माण कार्य जारी रहेको छ । तर, अहिले भवन निर्माणाधिन अवस्थामै रहेको बेला भवन निर्माण गराइरहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाईलाई बेवास्था गर्दै भवनको उद्घाटन गरिएको छ ।

attariya hospital

प्रक्रिया अनुसार भवन निर्माण गराइरहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाईले नगरपालिकालाई हस्तान्तरण गरेपछि मात्रै उद्घाटन गनुपर्ने हुन्छ । तर, अहिले भवन निर्माण गरिरहेको दातालाई नै बेवास्था गर्दै नगरपालिकाले आफुखुसी भवन उद्घाटन गरेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रबिन शाहले भवन गोदावरी नगरपालिकाको भवन उद्घाटन भएको बारेमा आफूलाई जानकारी नभएको बताए । उनले भवन उद्घाटन गर्ने भनेर नगरपालिकाले पत्र पठाएको भएपनि भवन पूर्ण निर्माण नभएकाले उद्घाटन गर्न नमिल्ने भनेर जवाफ पठाएको बताए ।

‘वहाँहरुले भवन उद्घाटन गर्नुपर्ने भयो भनेर पत्र पठाउनु भएको थियो । हामीले विभागिय सहमती नभएकोले मिल्दैन भनेका थियौ । त्यसपछि के भयो थाहा भएन’ उनले भने ‘वहाले अनुरोध गरेपनि हामीले पूर्ण निर्माण नभएकाले नमिल्ने कुरा पत्र मार्फत जानकारी गराएका थियौ । उनले भवनको हाल ८५ प्रतिशत काम सम्पन्न भएको र जेठ मसान्त भित्र काम सकिने बताए । उनले भवन पूर्ण निर्माण नभएकाले अहिले नगरपालिकालाई हस्तान्तरण नगरिएको बताए ।

यो स्थानीय सरकारको अधिकारको कुरा हो

यता नगरपालिकाका प्रमुख हरी सिह साउँदले भने भवन उद्घाटन गर्ने अधिकार स्थानीय तहको हुने बताए । यो एक बैध सरकार हो । यो स्थानीय सरकारको अधिकार हो । त्यसकारण हामी अरुका कुरातिर लागेनौ’ भवनको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले भने ‘तपाई अलिकता सोच्नुहोस् । हामीले कुनै राजनीतिक पुर्वाग्रह राखेका छैनौ । यसरी उद्घाटन रोक्न खोज्नु दुर्भाग्य हो । यो स्थानीय तहको भवन हो । अब यो ठाउँमा हामी बैसाखमा सर्नेछौ । यसमा कसैले पनि विरोध गर्न आवश्यक छैन ।’

navjiwan hospital

उनले भवन चैत्र भित्र सम्पन्न गर्ने भनिए पनि पछि आयोजना कार्यालयले नै ढिलाई गरेको बताए । ‘क्षेत्रिय सहरी विकास सहरी आयोजनाले चैत्र महिनामा हस्तान्तरण गर्छै भनेका थिए । तर, सो अनुसार काम हुन सकेन’ उनले भने ‘सोही अनुसार हामीले चैत्र १४ मा उद्घाटन गर्ने योजना बनायौ । तर, पछि यहाँ काम गर्ने कामचारीलाई नै अन्य ठाउँमा पठाइयो ।’

उनले भवनको उद्घाटन हुन नदिन बिभिन्न बाहानामा काम लम्ब्याइएको बताए । उनले सहरी विकास कार्यालयले नगरपालिकाको भवन बनाइदिन्छै भनेपछि सम्झौता गरेको बताए ।

‘गोदावरी नगरपालिकामा आइसकेपछि हामी सुकुम्बासिको अवस्थामा थियौ । अब सधैभरी सुकुम्बासी रहेर नगरपालिकाले आफ्ना काम कारवाहीहरु अगाडी बढाउँन सक्ने अवस्था थिएन’ उनले भने ‘यसैबिचमा सहरी विकासले तपाईहरुलाई हामी भवन दिन्छौ भनेको थियो । त्यसपछि हामीले सहरी विकासलाई अत्तरिया चोकको डेढ किलोमिटर भित्रै जग्गा उपलब्ध गराएका थियौ । जसका लागि सबै राजनीतिक संयन्त्रसंग छलफल गरी निर्णय गरिएको थियो ।’ उनले आफूहरुले छिटो काम गर्न ताकेता गर्दा भवन अहिलेको अवस्थामा पुगेको बताए ।

सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सकिएको भएपनि कोरोना महामारीका कारण देखाउँदै हाल म्याद थप गरी काम भइरहेको छ । भवन निर्माणको म्याद जेठ मसान्त सम्म रहेको छ ।

बिरोधका बिच उद्घाटन

निर्माणाधिन भवनको उद्घाटन गर्न लागिएको भन्दै नेकपा एमाले बाहेकका राजनीतिक दलले बिरोध गरेका थिए । बिरोधकै बिच नगरप्रमुख साउदले भवनको उद्घाटन गरेका छन ।

भवन उद्घाटनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । उद्घाटनका गर्ने क्रममा एक जना युवाले कालो झण्डा देखाएछि केहिबेर कार्यक्रम स्थल तनाबग्रस्त समेत बनेको थियो । यद्दपी प्रहरीले कालो झण्डा देखाउने स्थानीय युवा एलआर ओझा पक्राउ गरेर छोडिसकेको छ ।

निर्माणाधीन भवनको उद्घाटन गरिन लगिएको भन्दै आईतवार नेपाली काङ्ग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।