धनगढी – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को उपाधि त्रिभुवन आर्मी क्लबलले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको थियो । पहिलो र दोस्रो सेट २५–२३ र २५–२० जितेको आर्मीले तेस्रो सेट भने १८–२५ मा गुमाउन पुगेको थियो । तर, चौथो सेट २५–२२ ले जित्दै आर्मीले फाइनल जितेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको आर्मीले नगद ४ लाख हात पारेको छ ।
उपविजेतामा चित्त बुझाएको पुलीसले भने २ लाख हात पारेको छ ।


यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो हुँदै एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार जितेको छ ।
विजयी खेलाडी र टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर धामी, ओलम्पिएन दीपक विष्टलगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।
चैत्र ७ गते देखि सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको थियो ।

















