अत्तरिया – प्रधानसेनापति प्रभुराम शर्माले भूपू सैनिकलाई सामाजको समृद्धिमा जोडिन आग्रह गरेका छन । भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले भूपू सेनाले समाजमा समृद्धि ल्याउने क्रियापलाप गर्न आवश्यक रहेको कुरामा जोड दिएका हुन ।
‘सामाजमा अवकास प्राप्त गरेको सेनाले गरेको क्रियाकलापले आफ्नो र सामाजको समृद्धिमा ठूलो मदत पुग्ने गर्दछ’ उनले भने ‘सैनिकले कहिले पनि आफ्नो व्यक्तिगत फाइदाका बारेमा मात्रै सोच्दैन । जसको फाइदा समाजले लिन सक्छ ।’

उनले भूपु सेनाका लागि श्रोत र साधनले भ्याएसम्म सैनिक कल्याणकारी बोर्डमार्फत बिभिन्न किसिमका कार्यक्रम संचालन भइरहेको बताए ।
‘नेपाली सेनाले वेल फेयर भिजन २०३० भनेर १० बर्षे योजना बनाएको छ । यो योजना सेनाको कोष मार्फत कार्यान्वय गरिनेछ’ उनले भने ‘नेपाली सेनाले २०३४ सालदेखि जम्मा गरेको रकमबाट जोडिएर अहिले हाम्रो कल्याणकारी कोषमा ६४ अर्व रुपैयाँ जम्मा भइसकेको छ । सेनाले सो कोेष मार्फत आयआर्जन हुने बिभिन्न व्यवसायमा लगाएर कोष बढाउने काम गरिरहेको छ ।’
उनले कोषको रकम शिक्षा र स्वास्थ्यमा समेत लगानी गरिएको बताए । ‘हामीले सैनिक तथा भुतपुर्व सैनिकका परिवारलाई राम्रो शिक्षा दिने प्रयास गरिरहेका छौ’ उनले भने ‘स्वास्थ्य सेवाको पहुच पनि हरेक प्रदेशमा पुगाउने गरी काम भइरहेको छ ।’
सेना राजनीति निरपेक्ष चरित्र

उनले अवकाश पछि सेनालाई सकेसम्म राजनीतिमा नलाग्न आग्रह गरे । ‘सबैभन्दा ठूलो हाम्रो चरित्र भनेको राजनीति निरपेक्ष चरित्र हो । यो चरित्र भूतपुर्व सैनिकहरुले पनि देखाउनै पर्छ । जथाभावी संघ, संगठन नखोलि समाजमा काम गर्न पनि अनुरोध गर्न चाहन्छु । तपाईहरु राजनीति गर्नुहुन्छ भने पनि इज्जत साथ गर्नुहोला’ उनले भने ‘सेनाले पूर्ण अनुशासनमा बस्नुपर्छ । आफ्नो लागि समाजको लागि, देशको लागि ।’
उनले जहा भएपनि एकताको भावनालाई जगाउन अवकास प्राप्त सैनिकहरुको महक्तपूर्ण भूमिका हुने बताए । उनले नेपाली सेना वाहावाला र अवकास प्राप्त सैनिकहरुको साझा घर भएको बताए ।
विभिन्न व्यक्ति सम्मानीत
सम्मेलनमा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मेलनमा कञ्चनपुरका ९३ बर्षिय जेष्ठ भूपू सैनिक खड्गसि खत्री, कैलालीका भूपू जमदार भूमसिह कडायतकी श्रीमती १०६ वर्षीया एकल महिला भद्रकाली कठायतलाई सम्मान गरिएको थियो ।
यसैबिच चार भन्दा बढी छोराछोरीलाई नेपाली सेनामा सेवा गराउन प्रेरित गराउने आमावुवालाई पनि सम्मानित गरिएको थियो ।
जसमा ५ जना छोराछोरीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने कञ्चनपुुरको भीमदत्त नगरपालिका – १३ की ६८ बर्षीय पार्वती पन्त, ४ जना छोराछोरीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने भीमदत्त नगरपालिका – ८ का ६७ बर्षीय प्रतव सिह ऐडी, ४ जना छोराछोरीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने कैलालीको गोदावरी नगरपालिका – २ का राम बहादुर चौधरीलाई सम्मानित गरिएको थियो ।
यसैबिच कार्यक्रममा सर्बोत्कृष्ट उद्यमी बनेका भूपू सैनिक परिवारलाई पनि सम्मान प्रदान गरिएको थियो ।

















