अत्तरिया – करिब ४५ बर्षदखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न नाप जाँच सुरु भएपछि बलराम ढोली दमाई खुसी देखिन्थे । कैलालीको गोदावरी नगरपालिका – ५ बरबट्टामा उनको परिवार २०२३ सालदेखि बस्दै आएको छ । तर, जग्गाको लालपुर्जा भने उनले पाउन सकेका छैनन् ।
बुधबार गोदावरी नगरपालिकाले लालपुर्जा वितरण गर्ने भन्दै जग्गा नाप जाँच सुरु गरेपछि भने लालपुर्जा पाउनेमा उनी आशाबादी देखिएका छन । तर, उनी ढुक्क भने हुन सकेका छैनन् । २ कट्टा जग्गा भोगचल गर्दै आएका बलरामले लालपुर्जा भने कहिले पाईन्छ भन्ने आफूलाई जानकारी नभएको बताए ।

स्थानीय सिद्ध लुहारले नापी सुरु भएपनि पहिलेको जस्तै धोका हुने हो की भन्ने आशंका व्यक्त गरे । ‘नापी त सुरु भयो तर, पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन की । चुनावका लागि मात्रै गर्ने हुन की’ उनले भने ‘फेरी धोका नहोस् ।’
स्थानीय बद्रि सिह दमाईले २०४२ सालदेखि बरबट्टामा बस्दै आएको बताए । उनले यसअघि पनि २०५४ सालमा पनि नापी आएपछि लालपुर्जा पाउन नसकेको बताए । ‘अहिले भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको छ । यो राम्रो हो’ उनले भने ‘लालपुर्जा पाएपछि भने ढुक्क भएर बस्न पाइन्छ ।’ उनले पटक पटक ठगिएकाले जग्गा नापी भएपनि लालपुर्जा पाइहालिन्छकी भन्नेमा बिस्वस्त हुन नसकिने बताए ।
स्थानीय मदन नेपालीले २ पुस्तादेखि बरबट्टामा बस्दै आएको भएपनि लालपुर्जा पाउनेमा भने अझै ढुक्क हुन नसकेको बताए ।
‘लालपुर्जाका लागि धेरै पटक फारमा भर्दै गयौ । धेरै सरकार परिवर्तन भए’ उनले भने ‘चुनावी माहोलको लागि मात्रै हो की भन्ने कुरामा अझै संका छ ।’ उनले दलित समुदायको बसोबास भएको बरबट्टा आर्थिक रुपमा निकै पछाडी परेको बताए । उनले कुनै व्यवसाय गर्नका लागि पनि लालपुजा नहुँदा ऋण लिन समस्या हुने गरेको बताए ।
स्थानीय ममता नेपालीले लालपुर्जा नपाउँदा आफूहरु निकै दुखिद् भएको बताइन् । ‘अहिले खुसी लागेको छ तर, अझै लालपुर्जा पाइने हो की होइन भन्ने चिन्ता पनि छ’ उनले भनीन ‘लालपुर्जा पाएपछि लोन लिएर कुनै व्यवसाय गर्न पाइन्थ्योकी भन्ने आशा छ ।’
सरकार बदलिदा काम लम्बियो
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले पहिलो चरणमै आफूहरुले लालपुर्जा वितरण गर्ने भने पनि केन्द्रमा सरकार परिवर्तन भएर तत्कालिन आयोग खारेज हुँदा काम गर्न नसकिएको बताए ।

‘उतीबेला हामीले लगत संकलन गरेर ४ जना सर्बेक्षक र ४ जना अमिन राखेर काम सुरु गर्ने तयारी गरेका थियौ । तर, बिडम्बना केन्द्रमा सरकार नै परिवर्तन हुन पुग्यो’ उनले भने ‘उतीबेला हामीले १२ वटै वडामा एकैचोटी काम सुरु गर्ने सोचेका थियौ । माघ महिना भित्र लालपुर्जा दिने उद्देश्य थियो । सरकार परिवर्तले आयोग नै विगठन भएपछि काम लम्बियो ।’ उनले हाल दोस्रो आयोगसंग पनि सम्झौता गरेर काम अगाडी बढाएको भएपनि हाल दक्ष जनशक्तिको अभाव भएको बताए ।
‘अहिले हामीले आफ्नो कार्यकाल भित्र १२ वटै वडामा जग्गा नाप्ने प्रयास गर्ने भनेका छौ । अहिले हामीले थप सर्वेक्षक पायौ भने अरु वडामा पनि टिमलाई परिचालन गर्न छौ । अहिले ढिलाई हुनुको मुख्य कारण प्राबिधिक कारण हो ।’ उनले कर्मचारी पाएमा अरु वडामा पनि काम सुरु गरिने बताए ।
नापी टोलीलाई सहयोग गर्न आग्रह
गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरिन् । ‘जग्गाधनी समयमा आएनन् । विवाद भयो भने काममा ढिलाई हुन सक्छ’ उनले भनीन् ‘अब चुनाव नजिक आउदै छ । काम ढीलो भयो भने लालपुर्जा पाउने काममा पनि ढिलाई हुन सक्छ ।’

उनले दोस्रो चरणमा भएको कामलाई समयमा सम्पन्न गर्नको लागि सबैले टिममा मिलेर काम गर्न आवश्यक रहेको बताईन् । उनले कुनै काममा समस्या आए आफू लगायत जनप्रतिनिधि, कर्मचारी मिलेर समस्या सामाधान गर्न तयार रहेको बताइन् ।

वडा नम्बर ५ का अध्यक्ष कर्ण सिह बोहराले आफ्नो जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडी बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गरे । उनले गोदावरीमा जग्गा नापीका लागि पहिलो चरणमा वडा नम्बर ५ छनोट गरेकोमा धन्यावाद ज्ञापन गरे ।
नापीका लागि कन्ट्रोल पोइन्ट राखिदै
गोदावरी नगरपालिकामा सर्बेक्षकका रुपमा कार्यरत बिरेन्द्र सिहले नापीका लागि आफू लगायत २ जना सर्बेक्षक र ९ जना अमिन परिचालन गरिएको बताए । उनले हाल नगरपालिकामा जग्गा नापीका लागि ३ वटा मेसिन रहेको बताए । उनले १ महिनामा १० देखि ३० हेक्टर जग्गा नापी गर्न सकिने बताए ।
‘हामीले जग्गा नाप्ने मात्रै नभएर जग्गा नापीका कागजात पनि तयार गर्नुपर्छ’ उनले भने ‘आज देखि हामी पोइन्ट राख्ने काम सुरु गर्छै । यस क्षेत्रमा ९ वटा पोइन्ट राख्नु पर्ने देखिएको छ । कन्ट्रोल पोइन्ट राख्नको लागि ४/५ दिन लाग्छ । अनी नापीको काम सुरु हुन्छ ।’

उनले नाप नक्सा सकिएपछि ३५ दिने सूचना निकालेर छुटफुटको सूचना जारी गरिने बताए । उनले नापीका लागि डिजिटल प्रतिधि प्रयोग गरिएको बताए । उनले एक टोलीमा एक जना टोली प्रमुख, एक जना सर्बेक्षक, ३ जना अमिन आवश्यक पर्ने बताए । ‘नगरपालिका संग भएका ३ मेसिन प्रयोग गर्न अन्य जनशक्ती भएपनि एक जना सर्बेक्षकको भने अभाव छ’ उनले भने ।
नापीका लागि ३ टोली परिचालन गरिने
गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् गोदावरी नगरपालिकाको भूमी सम्बन्धी समस्या सामाधान एकाइका संयोजक बसन्त कुमार खत्रीले नापीका लागि ३ टोली परिचालन गरिने बताए । उनले बुधबार देखि वडा नम्बर ५ मा नाप जाँचको काम सुरु भएको र, लगतै अन्य २ वडाबाट काम सुरु गरिने बताए ।
‘जग्गा नापीका लागि तत्कालै हामी वडा नम्बर २ मा पनि टोली पठाउन्छौ । त्यसका लागि जिपिएस कोडिनेट मार्फत कन्ट्रोल पोइन्ट लिने क्रममा छौ’ उनले भने ‘वडा नम्बर २ मा काम सुरु गरेपछि एक अन्य वडामा पनि काम सुरु हुन्छ ।’

उनले भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दा राजश्व नलाग्ने र अव्यवस्थित बसोबासीको हकमा भने मापदण्ड अनुसार राजश्व लाग्ने बताए । उनले नापीका क्रममा भने कुनै शुल्क नलाग्ने बताए ।
उनले नापीको काम कहिले सकिन्छ भन्ने बारेमा भने अहिले नै भन्न नसकिने बताए । ‘अहिले हामीसंग ३ वटा जग्गा नाप्ने मेसिन छन । ३ वटै मेसिन चलाउनको लागि २ जना मात्रै सर्बेक्षक छन’ उनले भने ‘१ जना सर्बेक्षक केन्द्रबाट पठाउने कुरा भएको छ । सर्बेक्षक आएमा नापीको काम स्पिडमा जान्छ ।’ उनले लालपुर्जा वितरण पनि कहिले देखि सुरु हुन्छ भन्ने बारेमा अहिले नै भन्न नसकिने बताए ।
हाल नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गोदावरी नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच पुस २४ गते सम्झौता गरिएको थियो ।
यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग संग भएको सम्झौताको १ बर्ष पछि पुनः वर्तमान सरकारले गठन गरेको आयोग संग सम्झौता भएको थियो ।
भूमिसम्बन्धी समस्या समाधान आयोग शेर वहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट साउन १९ गते खारेज गरेको थियो । भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि गोदावरीमा पुनः सम्झौता गरेर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडी बढेको हो ।

















