डडेलधुरा – डडेलधुरामा ५० करोडको लागतमा भटमास प्रशोधन गरेर तेल उत्पादन र साबुन उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरिएको छ । ७ सय ७७ जना सेयर सदस्य र १ हजार बढी भटमास उत्पादक कृषकहरू मिलेर उद्योग संचालनमा ल्याउन लागिएको हो ।
फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका रूपमा तीन वर्षको तयारीपछि उद्योग सञ्चालन सुरु हुन थालेको लिमिटेडका अध्यक्ष तारा जोशीले बताए ।
‘सुरुमा भटमास उत्पादन हुने जिल्लाहरू छनोट भयो र सम्भाव्यता अध्ययन भयो,’ जोशी भन्छन्, ‘तीन वर्षमा कृषकहरूसँग समन्वय, बजारको अध्ययन, चुनौतीहरूको पहिचान, क्षमता आकलन र सँगसँगै भौतिक पूर्वाधार निर्माणका काम भएको छ ।’ कम्पनीको भवन, गोदाम र कार्यशालालगायत भौतिक पूर्वाधार निर्माण भइसकेको उनले बताए । उनले भने, ‘सुरुमा दुई करोड ५० लाख मूल्य बराबरको मसिन खरिद भएको छ, उत्पादन क्षमतासँगै अन्य उपकरण पनि थप्दै जाने योजना छ ।’


पहिलो चरणमा १० करोड बराबर लगानीको उत्पादन गर्ने गरी काम अगाडि बढेको जानकारी उद्योगले दिएको छ । ‘यो लगानी बढ्दै जानेछ,’ सञ्चालक सदस्य तथा लिमिटेडका चार्टर एकाउन्टेन्ट प्रकाशदत्त भट्टले भने, ‘पाँच वर्षमा एक अर्ब लगानीको उत्पादन लक्ष्य राखेर तयारी भएको हो ।’ देशको सबैभन्दा बढी भटमास उत्पादन हुने डोटी, दोस्रोमा सल्यान, तेस्रोमा काभ्रे र सुदूर तथा कर्णालीका अन्य सबै जिल्लाहरूबाट संकलन कार्य सुरु भइसकेको पनि उनले जानकारी दिए ।
‘नेपालमा बर्सेनि २० देखि २२ अर्बको पशु आहार र कुखुराको दाना आयात हुने गरेको छ’, वरिष्ठ कृषि प्राविधिक टेकबहादुर बिष्टले भने, ‘कच्चा तेल पनि झन्डै ७ अर्बको हाराहारीमा आयात हुन्छ, यो उद्योगले केही मात्रामा भए पनि आयात घटाउन सक्यो भने त्यो ठूलो उपलब्धि हुन्छ ।’
ग्रामीण कृषकहरूलाइ प्रोत्साहित गरी उद्योगमा संलग्न गराउने र आफ्नै कच्चापदार्थबाट तेल, पशु आहार र साबुन जस्ता अति आवश्यक उत्पादन सुरु हुनु हाम्रा लागि उत्साहजनक भएको बिष्टले बताए ।
सुदूरपश्चिममा जनताको सामूहिक लगानीमा यति ठूलो उद्योग खुल्न लागेको यो पहिलो पटक हो । अत्तरिया प्राविधिक क्याम्पसका प्रमुख रामचन्द्र ऐरले उद्योगसँगै सरकारले पनि भटमास उत्पादन हुने जिल्लाहरूमा सुपर जोन कार्यक्रम सुरु गर्नुपर्ने बताए ।
उद्योगले अहिलेकै अवस्थामा पनि एक सय बढी जनशक्तिलाई प्रत्यक्ष र एक हजार बढी किसानलाई अप्रत्यक्ष रोजगारीको अवसर दिनु राम्रो सुरुवात भएको पनि ऐरले बताए ।


















