धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ५ लाख ८७ हजार ७०० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।
कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका २ लाख ८३ हजार ९०० रुपैयाँ बराबरका रेडिमेड कुर्ता–सुरुवाल तथा विभिन्न किराना सामान बरामद गरिएको छ।


जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो।
त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट ३ लाख ३ हजार ८०० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ। बरामद सामानमा बिउबिजन, दाल, तोरी, तेल, गुड, बिडी, मिठाई, नरिवल, सुर्ती लगायतका किराना सामग्री रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
दुवै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।



















