अत्तरिया – ‘मछेलीको पानीलाई आधार मानेर २०२३ सालमा कटान काटी यस ठाउँमा बसोबास गरियो । तर, बिडम्बना यस क्षेत्रका मानिसहरुले शुद्ध खानेपानी त के पानीको अभावमा छटपटिनु पर्यो ’ गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर विकले अगाडी थपे ‘पानीको हाहाकारको कारणले यस ठाउँमा बाहिरका मानिसहरुले छोरी दिन पनि मनाही गरेको अवस्था थियो । पुजि भएका केही मानिस अन्यन्त्र गए । खानेपानीको अभावमा धेरै महामारीको सामना गर्नु पर्यो ।’
शनिबार सम्पन्न गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम बार्षिक साधारण सभामा आफ्नो प्रगति प्रतिवेदन राख्दै अध्यक्ष विकले खानेपानीको अभावमा यस क्षेत्रका जनताले वितगमा अपमान समेत सहनु परेको दुखेसो पोखे ।


यसै अभावलाई चिर्न २०४८ सालमै खानेपानी संस्था स्थापना गरिएको भएपनि संस्थाको सपना साकार हुन ३ दशक लागेको उनले सुनाए ।
खानेपानी कै लागि बिभिन्न चुनौती र संघर्षका बर्ष पार गरेको खानेपानी संस्थाले हाल भने घरघरमा धारा जोड्न सफल भएको छ । २०७२ सालदेखि खानेपानी संस्थाको नेतृत्वमा आएका विकले २०७६ सालमा संस्थालाई आधिकारीक रुपमा दर्ता गरी हाल गोदावरी नगरपालिका ११ र १२ का ६४६ घरमा शुद्ध खानेपानी वितरण गरेको बताए ।
रोटरी क्लव अफ धनगढी, फाया नेपाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढी, खानेपानी विभाग काठमाण्डौं, गोदावरी नगरपालिका, वडा कार्यालय लगायतका निकायको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको खानेपानीले आयोजना अन्तरगत पहिलो पटक २०७७ मंसिर ४ गते पहिलो धारा वितरण गरेको थियो ।
उक्त निर्माणाधिन खानेपानी आयोजना अन्तरगत हाल २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कि निर्माण गरिएको छ । संस्थाका अध्यक्ष विकले ३८ दशमलव ८९७ किलोमिटर खानेपानी पाइप लाईन विस्तार गर्नुपर्नेमा हाल सम्म ३१ दशमलव २३१ किलोमिटर पाइप लाईन बिस्तार गरी ६४६ घरमा खानेपानीको धारा जडान गरिएको बताए । उनले हालसम्म खानेपानी संस्थामा ९९९ उपभोक्ता बनिसकेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले ओलानी पुरानो अवस्थालाई चिर्दै नयाँ अवस्थामा प्रवेश गरिरहेको बताए । उनले ओलानीमा खानेपानी योजना निर्माण भएपछि अहिले मछेली खोलामा टाउकोमा गाग्री ल्याएर पानी लिएर आउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।


‘हामीले चाहेकै हो । पुरानो अवस्था बदल्ने भनेर’ उनले भने ‘हिजो खोलाको अशुद्ध खानेपानी खानुपर्ने अवस्थालाई बदलेर शुद्ध खानेपानी खान पाएका छौ, हिजो चाख्लेखोलामा पुल थिएन् । आज यो पुल निर्माण सम्पन्न हुने क्रममा छ । ओलानीको कृष्ण मन्दिर देखि उत्तर पट्टि साढे १० करोडको लगानीमा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । अन्य पनि धेरै योजना अगाडी बढेका छन । मोहना सिचाई आयोजना पनि प्रदेश सरकार मातहतमा अगाडी बढेको छ । जसले यहाँको जिवन स्तर बदलिने छ ।’
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका – ११ का वडा अध्यक्ष शिव विकले वडाका ९० प्र्रतिशत घरमा खानेपानीको धारा पुगेको बताए । उनले वडामा सितापुरको तल्लो टोलमा मात्रै धारा जडान हुन बाँकी रहेको बताए ।
‘विगतमा यो क्षेत्रमा खानेपानीको अत्याधिक समस्या थियो । स्थानीय सरकार आएपछि यस क्षेत्रमा खानेपानीको समस्या सामाधानका लागि थुप्रै प्रयास गर्यौ’ खानेपानी संस्थाका सचिव समेत रहेका विकले भने ‘अहिले धेरैका घरमा खानेपानीका धारा जडान भएका छन ।’
उनले खानेपानीको समस्या सामाधानका लागि हाल २ लाख २५ हजार क्षमताका २ र ३५ हजार क्षमताका ४ वटा ओभरहेड ट्याङ्किबाट खानेपानी वितरण भइरहेको बताए ।

गोदावरी नगरपालिका – १२ का वडा अध्यक्ष भीम खड्काले हाल खानेपानीको समस्या हट्दै गएको बताए । वडा नम्बर ११ र १२ मा खानेपानी विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष खड्काले वडाका केही स्थानमा अहिले पनि पाइपलाई विस्तार भइरहेको बताए । उनले खानेपानीको महशुल घटाएर घर–घरमै गएर शुल्क उठाइनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ धनगढीका पुर्व अध्यक्ष महेश बिष्टले आफूले २० बर्ष अगाडी देखेको सपना पुरा भएको बताए । उनले खानेपानी आयोजनालाई दिगो बनाउनका लागि सबै उपभोक्ताले अपनोत्व लिन आवश्यक रहेको बताए ।

कार्यक्रममा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधि सामाजसेवी, बुद्धिजिवीले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा बोल्ने अधिकासं बक्ताहरुले खानेपानीको अभावमा काकाकुल बनेको ओलानी क्षेत्रले खानेपानी पाएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा खानेपानी आयोजना निर्माणका लागि सहयोग गर्ने बिभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
यसैबिच संस्थाको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने भनिएपनि विधान संसोधन गर्नुपर्ने भएकाले अर्को व्यवस्था नहुँदा सम्म यसै समितिलाई निरन्तरता दिने सहमति भएको संस्थाका सचिव विकले बताएका छन ।


















