आशिष बहादुर सिंह/बझाङ – स्थानीय तहको निर्वाचन अघि विकट क्षेत्रका रुपमा चिनिने बझाङको छबिस पाथिभेरा गाउँपालिकाको गौरेनी डाडाँ मुहार फेरिएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि निर्माण भएका बिभिन्न संरचनाले गौरेनी डाँडाको मुहार फेरिएको हो ।
स्थानीय उमेश थापाका अनुसार अहिले गाउँपालिकाको भवन भएको ठाउँको नाम गौरेनीे डाँडा भनेर चिनिन्छ । ‘पहिला यो ठाउँमा गाई बस्तुभाउ चराउने तथा मेलापात गर्न आवत जावत गर्ने गर्दा दिउँसो पनि एक्लै डर लाग्ने जस्तो थियो’ थापाले भने ‘अहिले सो ठाउँमा स्थानीय सरकार आएपछी आफ्नै भवन बनेको छ ।’


थापाका अनुसार अहिले उक्त ठाउँमा ९ ओटा गाउँपालिकाका सबै शाखाका भवन बनेका छन । १० सैयाँको अस्पताल तथा वडा कार्यालय निमार्णधिन अबस्थामा छन् ।

स्थानिय सरकार आएदेखि गाउँपालिका भरी २ सय भन्दा बढी भौतिक निमार्णका काम सम्पन्न भएका गाउँपालिकाको योजना शाखाका कर्मचारी तेज सिंहले बताए । स्थानिय तह पुर्नसंरचना सँगै २०७४ सालमा सम्पन्न निर्वाचनबाट गाउँपालिकाले जनप्रतिनिधी पाएको थियो ।
भौगोलिक, जैविक र सामाजिक विविधताको धनी यो क्षेत्र जल, जमिन र जंगल पनि पर्याप्त मात्रामा छ ।
यहाँका पर्यटन र धार्मीक, सास्कृतिक धरोहरको विकास, संरक्षण र प्रर्वद्धनमा पनि गाउँपालिकाले विभिन्न पहलहरु गरेको छ । बान्नी, मष्टाँ, ब्याँसी, कोट दरबार, मेल्लेख जस्ता प्राकृतिक, धार्मिक र पुरातात्विक सम्पदाहरुको आफ्नै खालका बिशेषता छन् । त्यस्ता पुरातात्विक सम्पदाहरुको संरक्षणमा पनि गाउँपालिका जुटेको छ ।
गाउँपालिका अध्यक्ष अक्कल धामीले कृषी, पर्यटन, जलविद्युत जस्ता सम्भावनाको खोजी गरी बिकासको स्वरुप परिबर्तन गर्न सकिने बताए ।
साना देखि ठूला सम्म विकास निर्माणका कामहरुको गुणस्तरीयता कायम गर्दै समृद्ध गाउँ र सुखि गाउँवासीको सपना पुरा गर्ने दिशामा गाउँपालिका अग्रसर भएको अध्यक्ष अंकल धामीले बताए ।
बाल विवाह, बहु विवाह तथा छाउपडी अन्त्यका लागि गाउँमा जनचेतना दिदै गर्भवती महिला लाई पोषण सम्बधी गाउँमा सचेतना दिएपछी महिलाका लागि निकै राहत पुगेको उपाअध्यक्ष राधिका रताला जोशीले बताईन् ।
उनले भनीन् ‘सबै वडामा स्वास्थ्य संस्था स्थापना भई संचालनमा रहेका छन । गाउँपालिका भित्र स्वास्थ्य चौकी, स्वास्थ्य क्लिनिक, बर्थीङ सेन्टर गाउँघर मै स्वास्थ्य सेवा दिइरहेका छन ।’ हाल गाउँपालिकाका सबै वडा सडक संजालमा पनि जोडिएका छन ।
















