दार्चुला – दार्चुलामा चिउरी प्रशोधन गरेर साबुन उत्पादन सुरु गरिएको छ । मार्मा गाउँपालिका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा शिवालिङ्ग बचत तथा ऋण सहकारी मार्फत साबुन उत्पादन सुरु गरिएको हो ।

चिउरीलाई प्रशोधन गरेर हर्बल साबुन उत्पादन गरिएको गाउँपालिकाका जलश्रोत अधिकृत रमेशचन्द्र अवस्थीले बताए ।
उनले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने उद्देश्य सहित साबुन उत्पादन गरिएको बताए ।

साबुनको नाम मार्मा राखिएको छ । सहकारीले बाहिरबाट कच्चा पदार्थ मगाएर लुगा धुने साबुन पनि उत्पादन गरिरहेको जनाएको छ ।
उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, बैतडी डडेल्धुरा र धनगढीसम्म पठाउने तयारी गरिएको जनश्रोत अधिकृत अवस्थीले बताए । साबुन उद्योग स्थापनाका लागि मार्मा गाउँपालिका,ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र सहकारीमार्फत झण्डै एक करोड बढि लगानी भएको छ ।

















