अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा १ किलोमिटर सडक कालोपत्रे गर्न आकाश एण्ड पवन कन्स्ट्रक्सन कञ्चनपुर संग २०७६ असोज २८ गते ठेक्का सम्झौता गरिएको थियो । तर, १ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको २९ महिना बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन ।
सुरुमा नगरपालिकाले बसन्तपुरको शान्तीटोल जाने सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनी संग ६ महिना भित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । उक्त अवधिमा निर्माण कम्पनीले काम गर्न नसकेपछि १ बर्ष म्याद थप गरिएको थियो । कोरोना संक्रमणका कारण काम नभएको भन्दै १ बर्ष म्याद थपिएको भएपनि सो अवधि सकिएको १ बर्ष वितिसक्दा पनि काम सम्पन्न हुन नसकेको हो ।

२०७७ पुस १६ गते र चैत २९ गते काम नगरेका कारण लिखित रुपमा पेस गर्न ताकेता गरेको भएपनि ठेकेदारले बास्ता नगरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका इन्जिनियर पुर्ण कुँवरले सडकमा हाल बेस र सब बेस, रिटेनिङ वालको काम भएको बताए । ‘बेस र सब बेसको काम ठेकेदारले गत जेठ महिनामै गरेको थियो । त्यसपछि बिल माग्न आएपनि हामीले पुरै काम नभए सम्म रकम दिएनौ’ उनले भने ‘पछि कालोपत्रे गर्छु भन्दा भन्दै ठेकेदार कता हराए थाहै भएन । त्यसपछि ताकेता गर्दा पनि सम्पर्कमा आएनन् ।’

उनले सुरुदेखि नै काममा लापरवाही गरेकाले अहिले सम्म भुक्तानी नदिइएको बताए । उनले ठेकेदारले बैंक ग्यारेन्टि पनि नदिएकाले रकम भुक्तानी नगरिएको बताए ।
अन्तिम पटक ताकेता
यसैबिच गोदावरी नगरपालिकाले सडक अलपत्र छाड्ने ठेकेदारलाई बिहिबार अन्तिम पटक ताकेता गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले अन्तिम पटक ताकेता गर्दै ठेकेदारलाई पत्र पठाएका हुन । पत्रमा काम सम्पन्न नहुनुको स्पष्ट र विस्तृत कारण सहित स्यवम् उपस्थित हुन भनिएको छ ।
‘अन्यथा नियमानुसार कालोसूचीका लागि सिफारिस तथा धरौटी जफत र क्षतिपूर्ति बराबरको रकम असुल उपरका लागि प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत जानकारी गरिन्छ’ पत्रमा भनिएको छ ।
उता निर्माण कम्पनीका ठेकेदार आशिस खत्रीले सुरुको कामको भुक्तानी नपाउँदा काम अगाडी बढाउन समस्या भएको बताए । ‘मेरो यो आफ्नै समस्या हो । मैले सुरुमा पाउनु पर्ने भुक्तानी पाए रोटेसन चल्थ्यो ।आर्थिक समस्या भएकाले गाह्रो भएको हो’ उनले भने ‘म अब २/४ दिनमा आएर काम सुरु गर्दै छु ।’
उक्त सडक कालोपत्रेका लागि आकाश एण्ड पवन कन्स्ट्रक्सन कञ्चनपुर संग ४७ लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो ।

















