खाेज्नुहाेस

अन्तरिक्षमा हुत्तिरहेको रकेट आज चन्द्रमामा ठोक्किदैं

Image

बीबीसी –  अन्तरिक्षमा रहेको एउटा रकेटको प्रयोगहीन अंश शुक्रवार चन्द्रमामा ठोक्किने वैज्ञानिकहरूले बताएका छन्। तीन टन तौलको सो अंश अन्तरिक्षमा ९,३३५ किलोमिटर प्रतिघण्टाको गतिमा हुत्तिरहेको छ र शुक्रवार जीएमटी १२:२५ बजे (नेपाली समयानुसार साँझ ६:२५ बजे) चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ।

वैज्ञानिकहरूले सुरुमा यो अंश इलोन मस्कको अन्तरिक्षयानको भएको र पछि चिनियाँ अन्तरिक्षयानको भएको बताएका थिए। चीनले यो कुरा अस्वीकार गरेको छ।चन्द्रमामा यसको असर सामान्य हुने अनुमान गरिएको छ।वैज्ञानिकहरूले यसको टक्करबाट बन्ने १० देखि २० मिटरको खाडल र त्यसबाट उड्ने धुलोको अध्ययन गर्ने आशा गरेका छन्।

attariya hospital

अन्तरिक्षयानको यो अंश सन् २०१५ को मार्चमा देखिएको थियो। यो अन्तरिक्षको फोहोर भनिने अन्तरिक्षयानका काम नलाग्ने छोडिएका पार्टपुर्जा हो। तीमध्ये केही पृथ्वीनजिकै छन् भने केही हजारौँ किलोमिटर टाढा छन्।

युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तरिक्षमा १० सेन्टिमिटरभन्दा ठूला ३६,५०० वटा यस्ता पार्टपुर्जा रहेको अनुमान गरेको छ।

अन्तरिक्ष फोहोरको निगरानी गर्ने कुनै निकाय वा कार्यक्रम छैन किनभने यो असाध्यै महँगो हुन्छ र यसबाट मानवलाई हानि हुने सम्भावना एकदमै न्यून हुन्छ। त्यसैले केही स्वयंसेवकहरूले आफ्नो खाली समयमा यस्ता फोहोरको निगरानी गर्छन्।

navjiwan hospital

सन् २०१५ मा पहिलो पटक देखिएको छ सातापछि ६३ वर्षीय पिटर बर्ट्‌विशलले इङ्ग्ल्यान्डबाट यसलाई देखे। यस्ता अंशहरू केही समयपछि देखिन छोड्छन्। तर सात वर्षपछि गत ज्यानुअरीमा त्यो फेरि देखा परेको थियो।”पृथ्वीनजिकै रहेको बेला मैले केही तस्बिर खिचेँ,” उनले बताए।

उनले अमेरिकाका वैज्ञानिक बिल ग्रेलाई ती तस्बिर पठाए। ग्रेले त्यो स्पेस-एक्सको अंश भएको बताए। मस्कको अन्तरिक्ष कार्यक्रमअन्तर्गतको यानको अंश चन्द्रमामा ठोक्किन लागेको समाचार विश्वभरि फैलियो।

तर पछि उनले यसको गति र मार्गको हिसाब गर्दा यो स्पेसएक्सको हुन नसक्ने देखियो र उनले यो सन् २०१४ मा प्रक्षेपण गरिएको चिनियाँ यानको हुनसक्ने बताए। चीनले सो यानको अंश पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको र जलेको बताउँदै यो कुरा अस्वीकार गरेको छ।

तर ग्रे भने आफ्नो अनुमानमा अडिग छन्। “म ९९.९ प्रतिशत निश्चित छु कि यो चिनियाँ ५-टी १ को अंश हो,” उनी भन्छन्।

चन्द्रमामा यो ठोक्किएको पक्का गर्न केही दिन वा साता लाग्न सक्छ किनभने चन्द्रमा वरपर घुमिरहेका भू-उपग्रहले खाडलको तस्बिर पृथ्वीमा पठाएपछि मात्रै त्यो थाहा हुन्छ। टक्करपछि अन्तरिक्षयानको यो अंश हजारौँ टुक्रा हुनेछ र यो कुन यानको हो भन्ने थाहा पाउन सकिनेछैन।

बीबीसीबाट साभार