कञ्चनपुर – कञ्चनपुरमा ३ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ चम्मचोकस्थित न्यु तहल्का होटल एन्ड लजको कोठा नम्बर १०६ मा बसेका बेदकोट नगरपालिका–७ का ३४ वर्षीय मनोजराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भट्टको साथबाट शुद्ध तौल ३ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















