खाेज्नुहाेस

तेघरीमा धमाधम निर्माण हुँदै खानेपानी आयोजना

Image

अत्तरिया – कैलालीको तेघरीमा खानेपानी आयोजनाको कामले तिब्रता पाएको छ । जग्गा छनोटमा विवाद भएपछि ठेक्का भएको ३ महिना पछि काम सुरु गरिएको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा निर्माण भइरहेको खानेपानी आयोजनाको कामले तिव्रता पाएको हो ।

संस्थाले गोदावरी नगरपालिका – २ वनदेवी मन्दिर परिसरमा ४ सय ५० घनमिटरको ओभरहेड ट्याँकी, सहित अफिस भवन निर्माण गरिरहेको छ । योजना अन्तरगत करिब ६५ किलोमिटर पाइपलाइन बिछ्याउने योजना रहेको छ ।

attariya hospital

आयोजना तेघरी सामुदायिक वनमा निर्माण गरिने भनिएपनि त्यस क्षेत्रमा विवाद भएको थियो । विवादपछि आयोजनाको काम वनदेवी मन्दिरको ५ कट्टा जग्गामा सुरु गरिएको थियो । सो क्षेत्रमा पनि सुरुमा विवाद भएपनि पछि स्थानीय र खानेपानी आयोजना बिच सहमति भएपछि ठेक्का सम्झौता भएको ३ महिना पछि मात्रै काम सुरु भएको थियो ।

उक्त आयोजना अन्तरगत हाल अफिस भवनको ८५ प्रतिशत र ओभरडेट ट्याँकीको ७० प्रतिशत काम सम्पन्न भएको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिका दत्त जोशीले बताएका छन । उनले खानेपानी योजनाको काम तिब्र गतिमा अगाडी बढिरहेको बताए ।

navjiwan hospital

‘जग्गाको विवाद हुँदा ३ महिना काम रोकिएको थियो । तर, पनि अहिले ८ महिनामा तिब्र गतिमा काम भएको छ’ उनले भने ‘२०८० असार मसान्त सम्म आयोजनाको म्याद रहेको छ । यो गतिमा काम भएमा योजना म्याद भन्दा ६ महिना पहिले नै सकिन्छ ।’

आयोजना अन्तरगत २ वटा डिप बोरीङ जडान गरिने जनाइएको छ । डिप बोरिङ गर्ने काम १/२ दिन भित्रमै सुरु गर्ने तयारी थालिएको अध्यक्ष जोशीले बताए । उनले आयोजना अन्तरगत पाइपलाईन बिछ्याउने काम पनि एक साता भित्रै सुरु गरिने बताए ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २० प्रतिशत ऋिण, नगरपालिकाको ५ प्रतिशत लगानी र ५ प्रतिशत स्थानीय उपभोक्ताको लगानी गरी १७ करोडको लगानीमा खानेपानी आयोजना निर्माणको काम अगाडी सारिएको थियो । टेण्डर प्रक्रियामा जाँदा भिमेस्वर खड्का प्रशसा जेभी संग १३ करोड १९ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको खानेपानी संस्थाले जनाएको छ । उक्त निर्माण कम्पनी संग २०७८ असार ९ गते ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट तेघरी क्षेत्रका १ हजार ३९३ घरधुरी लाभाम्बित हुने जनाइएको छ ।

आयोजनाको स्थान परिवर्तन हुँदा भने लागत केही बढेको अध्यक्ष जोशीले बताएका छन । उनले सुरुमा ६० किलोमिटर पाइपलाईन बिछ्याउने योजना भएपनि आयोजनाको स्थान परिवर्तन हुँदा थप १ करोड २२ लाखको पाइपलाईन बिछ्याउनु पर्ने बताए ।

अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था २०५८ सालमा स्थापना भएको थियो । उक्त संस्थाले यसअघि तेघरीमै निर्माण गरेको खानेपानी आयोजनाबाट अत्तरिया क्षेत्रका ४२ सय बढी घरधुरीमा खानेपानी वितरण भइरहेको छ ।