धनगढी – जनताका गुनासो प्रत्यक्ष समेट्न लागि धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर’ मोबाइल एपको शुभारम्भ गरिएको छ । युएनडीपीको सस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजना अन्तर्गत संचालित कार्यक्रम अन्तर्गत मोबाइल एप ल्याइएको हो ।
एपको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सह–सचीव फणीन्द्र गौतमले संयुक्त रुपमा सार्बजनिक गरेका छन ।

लोगो सार्बजनिक गर्दै सह सचीव गौतमले एपको प्रभावकारीबारे आम नागरिकलाई ढुक्क हुनेगरी काम गर्नु आजको आवश्यकता भएको बताए । उनले गुनासो सुन्ने मात्रै नभएर गुनासोको सुनवाइ समेत गर्न आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाका मेयर वडले एप मार्फत उपमहानगरपालिकाका सम्पुर्ण जानकारी लिन सकिने बताए । उनले आम नागरिकलाई जायज गुनासा, सल्लाह र सुझाव दिन आग्रह गरे । जन चाहना अनुरुप आएका जायज गुनासाहरुलाई तत्काल समाधान गर्ने तर्फ उपमहानगरपालिका सदैव तयार अवस्थामा रहेको मेयर वडके बताए ।
कार्यक्रममा मेयर वडले उपमहानगरपालिकाले सम्बोधन गर्न नसक्ने कामका लागि प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गरेर सम्बोधन गरिने बताए । लोगो सार्बजनिक संगै हस्ताक्षरित सम्झौता पत्र समेत आदानप्रदान गरिएको थियो । सार्बजनिक गरिएको एप छिट्टै प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जनाइएको छ ।

















