अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सूदूरपश्चिम (सुप) समावेशी आधारभूत विद्यालयलाई गाई र कुखुरा वितरण गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सप्रोस नेपालले विद्यालयलाई गाई र कुखुरा वितरण गरेको हो ।
फरक क्षमता भएका विद्यार्थी अध्ययनरत उक्त विद्यालयका विद्यार्थीलाई पोषणयुक्त खानाका लागि सहयोग पुगोस भनेर गाई र कुखुरा वितरण गरिएको सप्रोस नेपाल कैलालीका संयोजक चन्द्र बहादुर सिंहले बताएका छन ।


उनले दिवा सेवा खाजा कार्यक्रम अन्तरगत विद्यालयलाई सहयोग गरिएको बताए । सुदूरपश्चिममै फरक क्षमता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालय भएका कारणले उनीहरुलाई पोषण संग जोड्न करेसाबारी पनि व्यवस्थापनको कार्यक्रम संचालन गरिएको उनले बताए । जसअन्तरगत सप्रोसले १ दुहुनो गाई र ४१ अण्डा दिने कुखुरा वितरण गरिएको थियो ।
उक्त गाई र कुखुरा एक औपचारीक कार्यक्रमका बिच विश्व खाद्य कार्यक्रमका सुदूरपश्चिम प्रमुख रबिन्द्र चन्द र वडा नम्बर २ का वडा सदस्य कृत चन्दले विद्यालयका प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै विश्व खाद्य कार्यक्रमका सुदूरपश्चिम प्रमुख चन्दले विश्व खाद्यका कार्यक्रम प्रदेशका पहाडी जिल्लामा संचालनमा रहेका भएपनि फरक क्षमता भएका विद्यार्थी अध्ययन विद्यालय भएकाले सहयोग गरिएको बताए ।
उनले कार्यक्रम अन्तरगत पहाडी जिल्लामा दैनिक २ लाख विद्यार्थीलाई दैनिक खाना खुवाइने गरिएको बताए । कार्यक्रममा बोल्दै वडा सदस्य चन्दले विश्व खाद्य कार्यक्रम मार्फत आफ्नो क्षेत्रमा भएको विद्यालयलाई सहयोग गरेको प्रति धन्यावाद ज्ञापन गरे । हाल उक्त बिद्यालयमा ६४ जना विद्यार्थी अध्ययनरत रहेका छन ।

















