अत्तरिया – कैलालीको अत्तरियामा नेपाली कांग्रेस (विपि) ले प्रजातन्त्र दिवस मनाउने भएको छ । शनिबार अत्तरियामा रहेको पतंजली योग समितिको सभाहलमा पार्टीले एक कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने भएको हो ।
दिवसलाई भव्य रुपमा मनाउन प्रत्येक प्रदेशमा केन्द्रिय प्रतिनिधिहरु खटाईएको सुदूरपश्चिममा प्रतिनिधिको रुपमा आएका पार्टीका केन्द्रिय उपसभापति बिष्णु प्रसाद ढकालले बताए । उनका अनुसार नेपाली कांग्रेस (विपि) ले ७२औ प्रजातन्त्र दिवसका अवसरमा माघ ७ गतेदेखी फागुन ७ गते सम्म राष्ट्रिय अभियान सञ्चालन गरेको थियो ।


यसका साथै उक्त कार्यक्रममा पार्टीको जिल्ला कार्यसमिति पनि चयन गरीने ढकालले बताए । ‘सुदूरपश्चिमका दुई जिल्लामा पार्टीको कार्यसमिति चयन गरिसकेका छौ’ उनले भने ‘बाँकी रहेका जिल्लाहरुमा शनिबार कार्यसमिति चयन गर्नेछौ ।’ उनले कार्यसमितिको संयोजक केन्द्रिय प्रतिनिधिले तोक्ने र अन्य पदाधिकारीहरु भने संयोजकले तोक्ने बताए ।
‘हामी कार्यसमितिको संयोजक तोक्छौ, बाँकी कार्यसमितिमा बनाउन चाहेका अन्य पदाधिकारीहरु तोकिएको संयोजकले आफै चयन गर्छ’ ढकालले भने । विपि कोईरालाको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को सान्दर्भिकतालाई मनन गर्दै पार्टी स्थापना गरिएको र पार्टीले जनताका हकहितका लागी विभिन्न मागहरु राखेको ढकालले बताए ।
उनका अनुसार उक्त पार्टीले मुलुक र जनताको हितका लागी महंगो संघियता खारेज गर्नुपर्ने, भ्रष्ट्राचारीलाई कारबाही गर्नुपर्ने, एमसीसी परियोजना फिर्ता गर्नुपर्ने, पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने लगायतका १२ बुँदे एजेन्डा तथा मागहरु राखेको छ ।
ढकालले शनिबार दिउँसो १२ बजे आयोजना हुने उक्त कार्यक्रममा उपस्थित भैदिन सबैलाई आग्रह गरेका छन ।


















