खाेज्नुहाेस

ट्रायल सेन्टर अलपत्र

Image

डोटी – पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले समयमै निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको बताइएको छ ।

दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् । सञ्चालनमा नआउँदा उक्त सेन्टर हाल अलपत्र जस्तै भएको छ ।

attariya hospital

तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते शिलान्यास गरेको उक्त ट्रायल सेन्टरको २०७६ जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरिसक्ने र असारदेखि ट्रायल सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

निर्माणको जिम्मा पाएको निकायले दुई वर्षभन्दा बढी समय लगाएर निर्माण कार्य सम्पन्न गरे पनि अहिले उक्त सेन्टरको निरीक्षण तथा काम सुरु गर्न अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाहले बताए ।

navjiwan hospital

यहाँका पहाडी जिल्ला अछाम, बाजुरा तथा डोटीका नागरिकको सहजताका लागि उक्त ट्रायल सेन्टर निर्माण गरिएको हो । प्रदेश सरकारको ३७ लाख ८१ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त ट्रायल सेन्टर सञ्चालनमा नआउँदा यहाँका नागरिकलाई समस्या भएको राजपुरका अर्का बासिन्दा कर्णबहादुर कठायतले बताए । भौतिक पूर्वाधार मन्त्रालयले समयमै उक्त ट्रायल सेन्टरको निरीक्षण गरेर निर्णय नदिँदा समस्या भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

ट्रायल सेन्टर निर्माण भइसकेको जानकारी सहित निरीक्षण गरिदिन गत साउन ५ गते मन्त्रालयलाई पत्र पठाएको भए पनि उक्त पत्रको कुनै जवाफ नआएका कारण सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख भरत नेपालीले बताए ।

उनका अनुसार भौतिक संरचनाको निरीक्षण भएपछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुनेछ र सवारी चालक अनुमति पत्रको प्रक्रिया सुरु हुनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात क्षेत्रका शाखा अधिकृत मोहनचन्द्र जोशीले कामको लोड बढी भएका कारण निर्माण सम्पन्न भएको उक्त ट्रायल सेन्टरको निरीक्षण गरी अनुमति दिन नसकिएको बतए ।

यतिमात्र नभई यहाँका यातायात व्यवसायीको अनुमतिपत्र नवीकरण गर्नका लागि राजपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गरिए पनि आवश्यक जनशक्ति नहुँदा उक्त काम पनि सञ्चालन हुन सकेको छैन । कार्यालयमा तोकएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा काम गर्नमा निकै सकस भएको निमित्त कार्यालय प्रमुख नेपालीले गुनासो गरे ।

रासस