नेपालमा उद्योग दर्ता हुने क्रम बढ्यो
काठमाण्डौं – पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालू आवको सोही अवधिमा उद्योग दर्ता हुनेक्रम बढेको उद्योग विभागको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालू आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १५४ पुगेको छ ।

विभागका अनुसार हालसम्म ८ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए ।
हालसम्म १ हजार २५९ ठूला, १ हजार ९६६ मझौला र ५ हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ ।

लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोड रुपैयाँसम्म पुँजी भएका उद्योगलाई मझौला र ५० करोड रुपैयाँभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रूपमा लिइन्छ ।
बढीमा २० लाखसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ ।
उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकामा चालू आवमा लगानी बढेर १ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म २४ खर्ब ७० अर्ब रुपैयाँको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्यांक छ ।
उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आवको समीक्षा अविधमा उद्योग स्थापनाबाट ६ हजार २८८ रोजगार भएकामा चालू आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ ।हालसम्म दर्ता भएका उद्योगमा ६ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ ।
रासस
