खाेज्नुहाेस

बाजुराको बाउली खोला पुलका ठेकेदारले पेस्की लिए, काम गरेनन्

Image

गगन अयडी/बाजुरा – बाजुरा सदरमुकाम मार्तडी देखि कोल्टी सडक खण्ड अन्तरगत पर्ने बाउली खोलाको ठेक्का सदर भएर पनि अझै निर्माण कार्य शुरु हुन सकेको छैन । बाउली खोलाको २५ मिटर लम्बाई पुल निर्माण गर्न टी.डी. आर जुगल कौशिक जेभिको नाममा गत असोजमा ठेक्का स्वीकृत भइसकेको छ ।

‘ठेकदारलाई पेस्की स्वरूप पाँच प्रतिशत अर्थात् २५ लाख रुपैयाँ गत कार्तिकमै पेस्की पनि भुक्तानी गरिसकेको सडक डिभिजन कार्यालय अछामका प्रमुख राजकुमार यादवले बताए । पुलको निर्माण कार्य भने सुरु हुन सकेको छैन ।

attariya hospital

कामका लागि खाद्यान्न कार्यक्रम अन्तरगत २०५७ सालदेखि सुरुवात भएको मार्तडी–कोल्टी ४२ किलोमिटर सडक खण्डमा पुल नबन्दा वर्षमा तिन महिना मात्र यातायात सञ्चालन हुने गरेको छ ।

उक्त कच्ची सडक निर्माण गर्दा ३५ करोड रुपैयाँ बराबरको खाद्यान्न खर्च भएको थियो । हालसम्म मार्तडी देखि ढम्कने करिब १० किलोमिटर सडक पक्की गर्न निर्माण कार्य भईरहेको छ । तर पुल बनाउने कुनै सुरसार नहुदा स्थानीय बासी निकै चिन्तीत बनेका छन् ।

navjiwan hospital

मार्तडी–कोल्टी सडक खण्ड अन्तरगत बाउली, अनाई, चुथीखोला, नाउलेगाड, सिगारे खोला र दानसाँघु लगायतका पाँच ठाउँमा पक्की पुल निर्माण नभए सम्म बाजुरेली जनताको बाह्रैमास यातायात सुविधा पाउने सपना कहिले पुरा नहुने बडीमालीका नगरपालिका – ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

उनले भने ‘पुल बनाउन ठेकदारलाई बारम्बार टेलिफोन, मौखिक ताकेता ग-यौँ तर, उनले कुनै वास्था गरेनन् ।’ यता सडक डिभिजन कार्यालय प्रमुख राजकुमार यादवले भने केही दिन अगाडी ठेकेदारलाई पत्राचार गरेको बताए । ‘ठेक्कादारले काम गर्छु भन्छन्’ उनले भने ‘ठेक्का सदर भएका पुलको पनि पेस्की लिने तर काम नगर्ने ठेकदारबाट अब पेस्की रकम फिर्ता गरिने छ ।’

बाउली खोला पक्की पूल निर्माणका लागि चार कोरोड ९१ लाख रुपैयाँ बराबरको ठेक्का सदर भएको छ । नियमअनुसार पेस्की लगेको पन्ध्र दिन भित्र काम शुरु गर्नुपर्छ । समय सीमा भित्र बाटो तथा पुल निर्माण नगर्दा बाजुराका बुढिनन्दा, नगरपालिका लगायत तीनवटा गाउँ पालिका लगायत हुम्ला र मुगु संगको सडक सञ्जाल पनि जोडिन सकेको छैन ।

यातायात नियमित नहुँदा आवागमनमा अवरोध भएको छ । जुकोट, पाण्डुसैन र खत्याडी स्याउ अनि प्रचुर मात्रमा पाइने स्थानीय सिमीले उचित बजार पाउन सकेको छैन । जुकोटका कल्की शाहीले मौसममा स्याउ लटरम्म फल्ने गरेका भएपनि यातायात सुविधा नहुँदा स्याउका चाना काटेर गाई भैँसीलाई कुँडो पकाएर खुवाउनु पर्ने बाध्यता रहेको बताए ।

नागरिक समाजका अगुवा हर्क खडायतले मार्तडी कोल्टी कोल्टी– रारा सडक सञ्जाल बाह्रैमास सञ्चालन भएमा प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तड छेडेद, बडीमालिका, पोरखेगडी, बुढीनन्दा माताको दर्शन गरी पादुका कर्णाली र्याप्टिङ्ग गरेर सहजपुरमा रारा घुमेर मुर्माटावरबाट सुदूर र मध्यपश्चिमलाई अवलोकन गर्न सकिने बताए । उनले भने ‘विडम्बना वर्षौंदेखि उक्त सडक खण्डमा एक थान पक्की पुल पनि बन्न सकेको छैन ।’

२०५१ सालमा शिलान्यास गरेको साँफे मार्तडी सडक पनि नियमित संचालनमा आउन सकेको छैन । उक्त सडक खण्ड अन्तरगत बल्दे द्वारीकाँधमा वर्षेनी पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । उक्त सडक खण्डको ‘एलाईन्म्यान्ट’ परिवर्तन नगर्ने हो भने यात्रुले सधैँ दुःख पाइरहेने देखिन्छ । ‘स्वायल टेस्ट’ गर्दा उक्त सडक खण्डको स्थान परिवर्तन गर्नै पर्ने देखिएको थियो । उक्त सडकको विकल्पका रुपमा बल्दे, सुर्काबजार, पिनालेख हुँदै मार्तडीको विकल्प उचित भएको प्राविधिकहरुको भनाइ रहेको छ ।